
काठमाडौँः नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी छिन्। नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन्।
सांसद डिला संग्रौलाको प्रस्ताव र देवेन्द्रराज कँडेलको समर्थनमा भुसालको उम्मेदवारी दर्ता गरिएको काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले जानकारी दिए।
बिहीबार नै काँग्रेस संसदीय दलको बैठकले उनलार्इ उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। भुसाल काँग्रेसबाट समानुपातिक सांसद भएकी हुन्।
पहिलो संविधानसभामा समेत उनी अर्घखाँचीबाट समानुपातिक सभासद बनेकी थिइन्।
बाम गठबन्धनको बहुमत रहेको प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट माअाेवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा निर्विराेध निर्वाचित भएका थिए।
बाम गठबन्धनबीच भएको सहमतिमा सभामुख माअाेवादी केन्द्र र उपसभामुख एमालेको भागमा परेको छ।
एमालेले सभामुखको उम्मेदवार टुंग्याउन छलफल गरिरहेकाे छ। नेकपा एमालेले अहिले सम्म उपसभामुखको लागि उम्मेदवार चयन गरि सकेको छैन्। नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले उम्मेदवार टुंग्याउन छलफल चलिरहेकाे छ। शिवमाया तुम्बाहाङफेकाे नाममा छलफल चलिरहेको भन्दै उनलार्इ नै उपसभामुखको उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।