
काठमाडौँः मन्त्रिपरिषद् विस्तार र उपसभामुखको निर्वाचनलगायतका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटरमा भएको सो भेटमा नेकपा (एमाले) र केन्द्रबाट थप गरिने मन्त्रीका विषयमा छलफल भएको थियो। सरकारमा आउन इच्छुक संघीय समाजवादी फोरमलाई समेट्ने विषयमा पनि उनीहरूबीच छलफल भएको थियो। हालसम्म दुई चरणमा मन्त्रिमण्डल विस्तार भए पनि पूर्णता पाएको छैन।
यही चैत २ मा हुने उपसभामुखको निर्वाचनका विषयमा पनि उहाँहरुबीच छलफल भएको प्रधानमन्त्रीका सूचना प्रेषक रामशरण बजगाईंले जानकारी दिए।
वाम गठबन्धनबीच एमालेले उपसभामुख पद लिने यसअघि समझदारी भएको थियो। रासस