काठमाडौँः प्रतिनिधि सभाको उपसभामुखका लागि आज निर्वाचन हुँदैछ। उपसभामुखका लागि दुई उम्मेदवार प्रतिस्पर्धामा छन्। वाम गठबन्धनका तर्फबाट डा. शिवमाया तुम्बाहाम्फे र कांग्रेसका तर्फबाट पुष्पा भुसाल प्रतिस्पर्धामा छन्।
दुई जनाको मनोनयन परेकाले शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उम्मेदवारीलाई निर्णयार्थ पेश गरिनेछ। मत विभाजनबाट उपसभामुखको चयन हुनेछ।
प्रतिनिधि सभामा कायम सदस्य संख्याको आधारमा उपसभामुख पदका निर्वाचित हुन १३८ सांसद् चाहिन्छ। वाम गठबन्धनको सहज बहुमत रहेको सभामा दुई दलका १७४ सांसद् छन्। यस्तै, सत्तारुढ गठबन्धनलाई यसअघिका पदाधिकारी निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले पनि साथ दिँदै आएको छ।
वाम उम्मेदवार तुम्बाहाम्फेको पक्षमा प्रतिनिधि सभामा स्पष्ट बहुमत छ।
कांग्रेसको प्रतिनिधि सभामा ६३ सांसद् छन्। अन्य कुनै पनि दलले साथ दिने निर्णय अहिलेसम्म गरेका छैनन्।
संविधानमा सभामुख र उपसभामुखमा एक महिला र फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने बाध्यात्मक व्यवस्था छ। सभामुखमा माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्वाचित भइसकेपछि उपसभामुखमा महिलाको मात्र मनोनयन भएको हो।
पार्टी एकीकरण गर्ने तयारीमा रहे पनि माओवादी केन्द्र र एमाले हाल छुट्टाछुट्टै दलका रुपमा रहेकाले एमालेबाट तुम्बाहाम्फे उपसभामुखको दावेदारी सम्भव भएको हो।