PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

बेपत्ता छोरी खोजिदिन बुबाको आग्रह, प्रहरीले समेत असहयोग गरेको आरोप



पहिलोपोस्ट

बेपत्ता छोरी खोजिदिन बुबाको आग्रह, प्रहरीले समेत असहयोग गरेको आरोप

इनरुवा: तीन साताअघि बेपत्ता भएकी छोरीको अवस्था अज्ञात रहेको भन्दै पत्रकार सम्मेलन गरी एक बाबुले आफूलाई सहयोग गरिदिन सबैमा आग्रह गरेका छन्। 

आफ्नी १८ वर्षीया छोरीको अवस्था अज्ञात रहेको भन्दै सुनसरीको देवानगञ्जका प्रमोद मेहताले सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकार सम्मेलन गरी गुहार मागेका हुन्।
 
पीडित पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा बेपत्ता भएकी भनिएकी मनिताकुमारी मेहताका बाबुले कप्तानगञ्जका शिवकुमार मेहताले परिवारको मिलेमतोमा छोरी बेपत्ता पारेको आरोप लगाएका छन्। 

घटनाबारे प्रहरीमा समेत उजुरी गरेको प्रहरीबाट सहयोग नपाएको अारोप लगाए। आर्थिक अवस्था कमजोर रहेको र आफू असक्षम रहेकाले छोरीको खोजीमा हिँड्न नसकेको उनले बताए। 

पीडितका बाबुले प्रहरीले छोरी खोज्न आफैँ जान र भेटेपछि जानकारी गराउन भनेको बताए। पीडित पक्षले छोरीलाई केटाको आफन्तको बसोबास रहेको भारतको पञ्जाब लगेको हुनसक्ने आशंका गरेको छ। 

केटा पक्षका आफन्तले छोरी फिर्ता लैजाने भए रु १० लाख रकम दाबी गरेको समेत उनले बताए। 

पीडित परिवार प्रहरीसमक्ष पुगेको जानकारी पाएपछि पीडक पक्षले मनिता बिरामी भई अस्पताल भर्ना भएको र उनको मृत्यु भएको जानकारी गराएकाले घटना थप रहस्यपूर्ण बनेको छ। 

उता सुनसरी प्रहरीले भने शिवकुमार र मनिताबीच प्रेम रहेको र दुवै भागेको कुरासमेत आएको जनाएको छ। 

घटना प्रेम सम्बन्धको भएपनि दुवै पक्षलाई झिकाएर परिवारलाई खोजीमा लाग्न भनेपनि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका निमित्त प्रहरी प्रमुख नारायणप्रसाद चिमोरियाले बताए।  रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell