
काठमाडौँः धौलागिरी अञ्चलको एकमात्र विमानस्थल वलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ। विमानस्थलमा चैत ९ गते प्रारम्भिक उडान गर्ने सहमति भएको छ।
२०१८ सालमा जनश्रमदानबाट निमार्ण भएको विमानस्थल विगत २६ वर्ष देखि बन्द छ। विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थल गौचरणमा परिणत भएको छ।
निर्वाचनका बेला यस क्षेत्रका उम्मेदवारहरुको पहिलो एजेण्डा विमानस्थल सञ्चालनका लागि रहेको थियो। बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकामा रहेको यस विमानस्थल सञ्चालनका लागि बाग्लुङसँगै पर्वत र म्याग्दीका स्थानीय तह तथा सांसदहरुले समेत आफ्नो एजेण्डा बनाएका थिए।
विमानस्थल सञ्चालनका लागि बाग्लुङ नगरपालिका र जिल्लाबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा विजयी भएका सांसदहरुले समेत पहल थालेका हुन्।
पहिलो चरणमा विमानस्थल सञ्चालनका लागि नगरपालिका, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण र नीजि विमान कम्पनीबीच प्रारम्भिक सहमति भएको बाग्लुङ १ बाट निर्वाचित सांसद देवेन्द्र पौडेल जानकारी दिए।
गत पुसमा बाग्लुङका जनप्रतिनिधि र नागरिक उड्यन प्राधिकरण, विमान कम्पनीका प्रतिनिधिहरुबीच सातामा दुई दिन विमान सञ्चालन गर्ने विषयमा प्रारम्भिक सहमति भएको थियो। सुरुवातमा राष्ट्रिय ध्वाजाबहाक नेपाल वायुसेवा निगमको विमान र तारा एयरबीच उडान भर्ने सहमति भएको उनले बताए।
‘पहिलो चरणमा ९ गते पहिलो फ्लाइट जाने सहमति भएको छ, त्यसलाई निरन्तरता दिने गरी सहमति भएको छ,’ उनले भने। विमानस्थल नियमित सञ्चालनका लागि बाग्लुङ नगरपालिकाले यात्रुहरुको ग्यारेन्टी समेत गर्ने सहमति भएको छ।
पोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि यो बिमानस्थल पूर्ण रुपमा बन्द भएको हो।
बिमानस्थल बन्द हुनुपुर्व बलेवाबाट टुईनेटर बिमानले काठमाडौँ, पोखरा र भैरहवा उडान भर्ने गर्दथे।
बन्द भएको यो विमानस्थल संचालनमा ल्याउनका लागि केही वर्ष अघि नेपाल एयरलाईन्सको ट्वीनेटर विमान लिएर तत्कालिन शिक्षामन्त्री दिननाथ शर्मा र पर्यटनमन्त्री लोकेन्द्र विष्ट वलेवा विमानस्थलमा अवतरण गरेका थिए।