काठमाडौं : प्रधान मन्त्री केपी शर्मा अोलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन्। अाज माअोवादी केन्द्र र एमालेबाट केही मन्त्रीलार्इ नियुक्त गरी सपथ गराउने तयारी छ।
माअोवादी नेताहरू मन्त्रीहरूको टुंगो लगाउन बानेश्वर स्थित संसद भवनमा छलफलमा जुटेका छन्। अध्यक्ष प्रचण्डसहितका नेताहरू मन्त्रीको टुंगो लगाउन बानेश्वरमा छलफलमा जुटेको माअोवादी केन्द्रीय कार्यालयका सचिव प्रकाश पोखरेलले जानकारी दिए।
माओवादीले पार्टीका तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम टुंग्याउने विषयमा छलफल गरिरहेको छ। प्रारम्भीक रूपमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, चक्रपाणि खनाल र वीना मगरको नाममाथि छलफल चलेको छ।
यसअघि मन्त्री बन्ने चर्चामा रहेका जनार्दन शर्माको नाम भने अाउट भएको छ।
उनीहरू सरकारमा सहभागी हुने करिब करिब टुंगो लागे पनि मन्त्रालयको विषयमा छलफल चलिरहेको पोखरेलले जानकारी दिए।
माअोवादी नेताहरूको छलफलमा पुनलार्इ उर्जा, पोखरेललार्इ शिक्षा, बस्नेतलार्इ वन मन्त्रालयको जिम्मेवारी दिने विषयमा कुरा चलिरहेको छ।
यसैगरी चक्रपाणि खनाल कृषि तथा शहकारी र वीना मगर खानेपानी मन्त्रीको जिम्मेवारी दिने गरी छलफल भए पनि अध्यक्षसहितका नेताहरू बैठकले यसलार्इ टुंग्याउने उनले जानकारी दिए।
यसअघि जनार्दन शर्मा समेत मन्त्री हुने चर्चा थियो। तर, अन्तिम समयमा उनको स्थानमा चक्रपाणि खनालको नामले प्रवेश पाएको हो। खनाल माअोवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा उनका प्रमुख राजनीतिक सल्लाहकार थिए।
यता एमालेले समेत मन्त्रीहरूको नामलार्इ टुंगो लगाएको छ।
अाज एमालेबाट एमाले सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रवीन्द्र अधिकारी, रघुवीर महासेठ, गोकुल बास्कोटा, जगत विश्वकर्माले मन्त्रीको सपथ लिने बताइएको छ।
प्रधान मन्त्री अोलीले ज्ञवालीलाई परराष्ट्र, विष्टलाई श्रम तथा रोजगार, महासेठलाई भौतिक तथा योजना, अधिकारीलाई पर्यटन र विश्वकर्मालार्इ युवा तथा खेलकुल मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।
गोकुल बास्कोटालाई सुचना तथा सञ्चार राज्य मन्त्रीको जिम्मेवारी दिने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।
एमाले पार्टी कार्यालयका सचिव कृष्ण गोपाल श्रेष्ठले प्रधान मन्त्री अोलीलार्इ मन्त्रीको टुंगो लगाउने जिम्मेवारी दिइएको भन्दै सोही अनुसार प्रधान मन्त्रीले मन्त्रीको टुंगो लगाएको जानकारी दिए।
यसअघि एमालेबाट लालबाबु पण्डित, थममाया थापा, ईश्वर पोखरेल र युवराज खतिवडा मन्त्री भइसकेका छन्। भने माअोवादी केन्द्रबाट रामबहादुर थापा बादल र मात्रिका यादव सरकारमा सहभागी छन्।
अाजै संघीय समाजवादी फोरमबाट पनि मन्त्रीहरू सहभागी गराउने तयारी भए पनि फोरमसँग सहमति हुन सकेको छैन्।
यता राष्ट्रपति कार्यालयले मन्त्रीहरूको सपथको तयारी समेत सुरू गरेको छ।