PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

२०१८ भित्र चिनियाँ राष्ट्रपति नेपालमा स्वागत गर्नेछौँः परराष्ट्र मन्त्री ज्ञवाली



पहिलोपोस्ट

२०१८ भित्र चिनियाँ राष्ट्रपति नेपालमा स्वागत गर्नेछौँः परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौँः परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिङ पिङले एक वर्षभित्र नेपाल भ्रमण गर्ने बताएका छन्। 

शनिबार रिपोर्टर्स क्लबले काठमाडौँमा अायोजना गरेको कार्यक्रममा बोल्दै सन् २०१८ भित्र मित्र राष्ट्र चीन र भारतबाट उच्चस्तरीय भ्रमण हुने बताए। 

आर्थिक विकासमा सहयोग जुटाउन सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने भन्दै उनले चीन भारतसँगै अन्य देशहरूबाट समेत उच्चस्तरीय भ्रमण गराइने बताए। 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिङ पिङलाई आमन्त्रण गर्ने गृहकार्य अब छिट्टै शुरु हुन्छ, चिनियाँ राष्ट्रपतिलाई सन् २०१६ मै निमन्त्रणा गरिएको थियो, तर सरकार परिवर्तन भएका कारण उहाँको भ्रमण हुनसकेन,' उनले भने, 'यसपटक अमेरिका, बेलायत, जापानलगायत राष्ट्रबाट पनि उच्चस्तरीय भ्रमण गराइनेछ।'

चीनबाट पनि उच्चस्तरीय भ्रमण हुनेमा आफू पूर्ण आशावादी रहेको र सोही अनुसार अब गृहकार्य अघि बढाउने उनले बताए।

उनले भने,‘चीनको राष्ट्रपतिसँग मैले भेटेर यसअघि पनि कुरा गरेको छु, उहाँ नेपाल आउन सकारात्मक हुनुहुन्छ, चीन सकारात्मक छ।’

विकास र समृद्धिका लागि सहयोग जुटाउन मित्र राष्ट्रको उच्चस्तरीय भ्रमणले वातावरण बनाउने उनको भनाइ थियो। प्रधानमन्त्री केपी शर्मा अोलीको विदेश भ्रमणको तयारी समेत भइरहेको उनले जानकारी दिए। 

‘प्रधानमन्त्री ओलीको विदेश भ्रमणको गृहकार्यमा पनि हामी जुटिसकेका छौँ,’ उनले भने,  ‘पहिला कुन देश जाने भन्नेबारे अहिले एकिन भैसकेको छैन, भारतबाट पनि हुनसक्छ, चीनबाट पनि हुनसक्छ, जहाँबाट पनि हुनसक्छ।’ 

दुर्इ साता अगाडि भएको पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण सद्भाव र रोकिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलन गर्ने विषयमा केन्द्रित उनको भनाइ थियो। 
 
नेपाल अध्यक्ष राष्ट्र भएकाले सार्क सम्मेलन गराउन पहल गर्ने कामलाई पनि प्राथमिकता दिइने उनले बताए। ‘सार्कको अध्यक्ष राष्ट्रको परराष्ट्रमन्त्रीको हैसियतले यसलाई सक्रिय बनाउन भूमिका खेल्छु,' उनले भने, 'त्यस्तै विमस्टेक लगायतका क्षेत्रिय संगठनहरुमा नेपालको तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्छु।’

उनले नयाँ सरकारले दुबै छिमेकीहरुसँग असल सम्बन्ध कायम गर्दै अगाडि बढ्ने बताए।

एक फरक प्रसंगमा उनले कुटनीतिक नियोग प्रमुख तथा राजदुतहरूसँगको भेट अव्यवस्थित हुने गरेको बताउँदै परराष्ट्र मन्त्रालय मार्फत राजदुतहरूसँगको भेटलार्इ व्यवस्थित गर्दै लैजाने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell