PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

सार्कले अपेक्षित रुपमा गति लिन सकेन्, आत्मसमीक्षा गरेर अगाडि बढौँः प्रचण्ड



पहिलोपोस्ट

सार्कले अपेक्षित रुपमा गति लिन सकेन्, आत्मसमीक्षा गरेर अगाडि बढौँः प्रचण्ड
फोटोः प्रचण्डको सचिवालय

काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)ले अपेक्षित रुपमा गति लिन नसकेको बताएका छन्। 

काठमाडौँमा आयोजित ‘दक्षिण एशियाका व्यापारिक नेतृत्वकर्ताहरुको छैठौं सम्मेलन' मा बोल्दै उनले सार्क स्थापना भएको तीन दशक सम्म पनि अपेक्षित रुपमा गति लिन नसकेको बताउँदै क्षेत्रीय सहयोगका क्षेत्रमा भए गरेका प्रगतिहरुको आत्मसमिक्षा गरेर आगामी बाटो पहिल्याउनुपर्ने बेला आएको बताए।

उनले परस्पर लाभ हुने किसिमले सहकार्यलाई अघि बढाउनुपर्ने बताए। 

'यो बीचमा सार्कले केही संयन्त्र निर्माण गरेको छ, कतिपय सम्मेलन भएका छन्, र सहयोगको एउटा आधार तयार भएको छ,' उनले भने, 'तर सार्कले शान्ति, स्थायित्व र समृद्धिको हाम्रो आशा भने अझै पूरा गर्न सकेको छैन। यस क्षेत्रमा रहेको विकास र समृद्धिको विशाल सम्भावना र दक्षिण एशियाका देशहरुले अनुभुति गरिरहेको लाभका बीचमा ठूलो धरातलीय अन्तर रहेको छ।' 

दक्षिण एशियाका देशहरु सामाजिक, आर्थिक विकासको फरक-फरक तहमा रहेको भन्दै उनले सबै देशले जित्ने ‘विन-विन’ मानसिकता लिएर अगाडि बढ्नुपर्ने बताए। 'अब विगतको मानसिकता त्यागेर सबैले जित्ने साझा संयन्त्र बनाउनु जरुरी छ। यसले मात्रै हाम्रो क्षेत्रको वैधता र विश्वसनियताको विकास गर्न सक्छ,' उनले भने।

दक्षिण एशियाको समृद्धिका लागि क्षेत्रीय व्यापारको महत्वमा रहेको बताउँदै उनले विश्व मानचित्रमा दक्षिण एशियाले सम्मानित स्थान खोजेको बताए। 

प्रचण्डले दक्षिण एशियाली राष्ट्रहरुले दक्षिण एशियाली आर्थिक संगठन स्थापनाको महत्त्वाकांक्षी लक्ष्य लिइरहेको अवस्थामा विकासमा ढिलासुस्ती क्षम्य नहुने बताए। उनले साफ्टा र स्याटिसको पूर्ण कार्यान्वयनका पथमा अघि बढ्नका लागि राजनैतिक इच्छाशक्ति आवश्यक रहेको बताए। 

भारत र पाकिस्तानबीचको आपसी समस्या समाधान गरेर सार्कका गतिविधिलाई सही दिशा दिनुपर्ने उनको भनाइ थियो। 

दक्षिण एसियाको सबैभन्दा ठूलो मुलुकको हैसियतमा भारतले पहलकदमी लिनुपर्ने उनले बताए।

सार्कको अध्यक्षको हैसियतमा भारत र पाकिस्तानबीच देखिएका असहमतिलाई न्यूनीकरण गर्न नेपालले सक्दो पहल गरेको उनको भनाइ थियो।

पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको नेपाल भ्रमणमा समेत आफूले सार्कलाई सही दिशा दिने विषयमा छलफल गरेको उनले बताए। 

कार्यक्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदकी सल्लाहकार सल्मान एफ रहेमानले भारत र पाकिस्तान एवं पाकिस्तान र अफगानिस्तानबीच रही आएको असहमति नसुल्झिएसम्म सार्कले गति लिन नसक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell