PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

तिलोत्तमा गोल्डकप  : पुलिसलाई हराउँदै थ्री स्टारले जित्यो उपाधि



चन्द्रकान्त खनाल

तिलोत्तमा गोल्डकप  : पुलिसलाई हराउँदै थ्री स्टारले जित्यो उपाधि

रुपन्देही : विभागीय टिम नेपाल पुलिसलाई हराउँदै रुस्लान थ्री स्टार क्लबले बुटवलमा सम्पन्न २०औँ तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ।

बुटवल ११ देविनगरस्थित एन्फा एकेडेमिको खेल मैदानमा भएको थ्री स्टारले पुलिस क्लबलाई २-० गोल अन्तरले हराउदै उपाधि जित्न सफल भएको हो। च्याम्पियन बनेसँगै थ्री स्टारले नगद ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ, कप र मेडल प्राप्त गरेको छ।

उपविजेता नेपाल पुलिसले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ, कप र मेडलमा चित्त बुझायो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि थ्री स्टारले दुवै गोल दोस्रो हाफमा गरेको थियो। पुलिसका कप्तान रविन श्रेष्ठले आत्मघाती गोल गर्दा थ्री स्टारले १-० को अग्रता बनायो। थ्री स्टारका लागि सुनिल बलको पासमा कप्तान निराजन खड्काको हेड मार्फत दोस्रो गोल गरे।

पाँचौ पटक गोल्डकपको उपाधि उचाल्ने मोडमा रहेको पुलिसको सपना भने यो पटक अधुरै रह्यो। दुई वर्षसम्म प्रतियोगितामा सहभागी नभएको थ्री स्टारले तिलोत्तमा गोल्डकपको उपाधिसँगै आफ्नो दरिलो उपस्थिती देखाएको छ।

प्रतियोगितामा रुस्लान थ्री स्टारका क्याप्टेन निराजन खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भए।  उनले होन्डाको स्कुटी पुरस्कार पाएका छन्। यसैगरि विधागततर्फ थ्री स्टारका मेघराज केसी उत्कृष्ट कोच, नेपाल पुलिसका भोला शिलवाल उत्कृष्ट मिडफिल्डर,  लाली रुपन्देही ११ का पूर्ण बहादुर श्रेष्ठ उत्कृष्ट डिफेन्डर, नेपाल पुलिसका रेजिन सुब्बा उत्कृष्ट स्ट्राईकरको रुपमा पुरस्कृत भएका छन्। उत्कृष्ट खेलाडीहरुले नगद २१ हजार १ सय ११ रुपैयाँ र मेडल प्राप्त गरेका छन्।

नेपाल पुलिसले विसं. २०३५ मा तेस्रो, विसं. २०५१ मा नबौ, विसं. २०५२ मा दशौ र विसं. २०५५ मा तेह्रौ संस्करणको तिलोत्तमा गोल्डकप उचालेको थियो। प्रतियोगिता चैत २४ गतेबाट शुरु भएको प्रतियोगिता १० समूहको सहभागिता थियो।

विेजता टिमलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले पुरस्कार प्रदान गरे। सुवेदीले बुटवललाई खेलमय बनाउन तिलोत्तमा गोल्डकपले सहयोग गरेको बताए। १० दिनसम्म सञ्चालन भएको खेलले थप उत्साह जगाएको आयोजक रुपन्देही फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell