PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

वर्ल्ड कप क्वालिफायर : नेपाल आठौँ, नेदरल्याण्ड्ससँग ४५ रनले पराजित



पहिलोपोस्ट

वर्ल्ड कप क्वालिफायर : नेपाल आठौँ, नेदरल्याण्ड्ससँग ४५ रनले पराजित

काठमाडौं : जिम्बावेमा भएरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपाल आठौँ भएको छ। १० टोली सम्मिलित क्वालिफायरमा आज भएको सातौँ स्थानको प्लेअफमा नेपाल नेदरल्याण्ड्ससँग  ४५ रनले पराजित भएको हो। सुपर सिक्स पुग्न नसकेपनि नेपालले पहिलो पटक वान डे इन्टरनेशनल (ओडिआई) स्ट्याटस हात पार्दै जिम्बावे यात्रा भने सुखद बनाएको छ।

क्वेक्वेमा नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा १४४ रनमा अलआउट भयो।

बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि सँधै जस्तै ओपनर चल्न नसक्नु र निरन्तर विकेट जानु नै नेपालको हारको कारण बन्यो। नेपालका लागि कुनै खेलाडीले पनि ४० रन पुरा गर्न सकेनन्।

बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका सोमपाल कामीले बनाएको ३६ रनको स्कोर नै नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर रह्यो। ५३ बल खेलेका सोमपालले ३ चौका र १ छक्का प्रहार गरे। यस्तै दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए भने कप्तान पारस खड्काले २२ तथा करण केसीले १३ रन जोडे। सोमपाल र करणले आठौँ विकेंटका लागि ३१ रनको साझेदारी गरेका थिए।

सन्दीप लामिछाने १४ रनमा नटआउट रहे।

बलिङमा नेदरल्याण्ड्सका रोएलोफ भान डेर मर्वेले ४ विकेट लिए। मर्वेले १० ओभर बलिङ गर्दै १ मेडन राखेर २० रन खर्चदै ४ विकेट लिए। डच बलरहरुले कसिलो बलिङ गर्दा नेपाली खेलाडीहरु रन बनाउन संघर्षरत थिए। यस्तै फ्रेड क्लासेन र पिटर सिलरले २-२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो। सोमपाल कामीले डच टोलीका सुरुवाती ३ विकेट लिदै दबाबमा राखेका थिए। तर मिडल अर्डरका खेलाडीहरुले डच इनिङ्स उकासे। सोमपालले ओपनर वेस्ले वारेसी र तेस्रो क्रममा ब्याटिङ गरेका बेन कुपरलाई शुन्यमा आरिफ शेखबाट क्याचआउट गराए भने ७ रन बनाएका कप्तान टर बोरेनलाई ७ रनमा सन्दीप द्वारा क्याचआउट गराए। अर्का ओपनर म्याक्स ओडोडलाई सन्दीपले १४औँ ओभरमा आउट गर्दा डच ४८-४ को स्थीतिमा पुगेको थियो। पाँचौ विकेटका लागि भान डेर मर्वे र लिडले ३९ रनको साझेदारी गरे। यस्तै लिडले छैटौँ विकेटका लागि स्कट एडवार्ड्ससँग ४१ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए।

नेदरल्याण्ड्सका लागि बास डे लिडले सर्वाधिक ३९ रन बनाए भने म्याक्स ओ’डोडले २८ रन जोडे। यस्तै राफेल भान डेर मर्वे र स्कट एडवार्डसले २५-२५ रनको योगदान गरे। पिटर सिलरले नटआउट २५ रन जोडे।

बलिङमा नेपालका सोमपाल कामीले ४ तथा सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट लिए। सोमपालले १० ओभर बलिङ गर्दा २ मेडन राख्दै २४ रन मात्र खर्चे। सोमपाल लिस्ट ए क्रिकेटमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली बलर समेत बनेका छन्।

सन्दीप र ललितले १० ओभरमा समान १ मेडन राखे। सन्दीपले ४१ तथा ललितले ३८ रन खर्चे।

यस्तै नवौँ स्थानको लागि भएको खेलमा पपुअ न्यूगिनीले हङकङलाई ५८ रनले पराजित गरेको छ। क्वालिफायरबाट सन् २०१९ मा हुने वान डे वर्ल्डकपका लागि २ टिम छानिनेछन् र सुपर सिक्सका खेलहरु भने जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell