नुवाकोटः बेलकोटगढी नगरपालिकाले नगरक्षेत्रको विकासका लागि सडक विस्तार तथा स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राखी एकैसाथ २५५ वटा सडक विस्तार गर्ने भएको छ।
ग्रामीण भेगबाट नगरपालिका र अन्य कार्यालयसम्म पुग्ने व्यवस्थित सडकको अभाव भएपछि रु आठ करोड बजेट छुट्टाएर एकैसाथ नगरभित्रका २५५ वटा सडक निर्माण अघि बढाउन थालेको नगर प्रमुख राजेन्द्ररमण खनालले बताए।
“नगरपालिका हुँदै कालोपत्रे भएका पासाङलामु मार्ग र गल्छी–देवीघाट सडक सञ्चालनमा छन्” उनले भने “नगरको केन्द्र तथा मानवबस्तीसम्म पुग्न कठिन भएकाले विकासका अन्य गतिविधि सञ्चालन गर्न नसकिने भएको र जनताबाट समेत सबैभन्दा बढी सडककै माग भएकाले आवश्यकताको अधारमा सडक विस्तारलाई पहिलो प्राथमिकता दिइएको हो।”
नगरपालिकामार्फत विस्तार एवं स्तरोन्नति गर्न लागिएको सडक चार खण्डमा विभाजन गरिएको छ। राज्य पुनःसंरचनाअन्तर्गत साविकका छ गाविस समावेश गरी १३ वटा वडा मिलेर बनेको यो नगरपालिका प्राकृतिक श्रोत, जल, जमिन, जंगल, सांस्कृतिक सम्पदा एवं धार्मिकस्थलमा धनी मानिन्छ। रासस