
काठमाडौं: गृहमन्त्री रामबहादुर थापाले कारागरहरूलार्इ सुधार गृहको रूपमा विकास गर्ने बताएका छन्।
मंगलबार बिहान सेन्ट्रल जेल सुन्धारा र डिल्लिबजार कारागारको निरिक्षण गरेपछि उनले यस्तो बताएका हुन्।
गृहमन्त्री थापाले कारागारको भौतिक संरचना निकै कमजोर रहेको, बासस्थानको राम्रो व्यवस्था नभएको प्रति दुःख व्यक्त गरे।
गृहमन्त्री थापाले कारागार यातना गृहको रुपमा नभई सुधार गृहको रुपमा विकास गर्न आवश्यक रहेको भन्दै त्यसका लागि आवश्यक पुर्वाधार निर्माण गर्न आफुले ठोस कदम चाल्ने बताए।
गृहमन्त्री थापाले भने, 'कैदीको क्षमता भन्दा धेरै कैदी कारागारमा राखिएको छ, कारागार जिर्ण अवस्थामा रहेको भन्दै नुवाकोटमा बन्ने नयाँ जेलका लागि तत्काल काम अघि बढाउन पहल गर्छु।'
कैदीले हाल पाउँदै आएको सिदामा वृद्धि गर्ने, उनीहरुको सेवा, सुविधा वृद्धि लगायतका विषयमा पनि मन्त्रालयले तत्काल प्रक्रिया अघि बढाउने मन्त्री थापाले बताए।
निरीक्षणको क्रममा गृहमन्त्री थापाले कैदीहरुसँग उनीहरुको गुनासो समेत सुनेका थिए।