
काठमाडौं: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको पूर्वी केन्द्रीय कमान्डले आफ्नो टोलीलाई तीन वटा हेलिकप्टरले घेरा हलेर एकोहोरो गोली चलाएर सरकारले दोहोरो भिडन्तको हल्ला चलाएको भन्दै आपत्ति जनाएको छ।
पूर्वी केन्द्रीय कमान्डका इन्चार्ज विषमले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा दुई जना वेपत्ता भएकोले सत्यतथ्य जानकारी दिनसमेत माग गरेको छ।
'सोमबार हाम्रो पार्टी नेकपाका कार्यकर्ताहरु संगठन सुदृढ तथा विस्तार अभियानको क्रममा संखुवासभा तिलिचुङ गाउँपालिका वडा नं. १ मा पुगेको बेला केपी ओलीको नेतृत्वको सरकारको ठाडो निर्देशनमा ३ ओटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी हाम्रो अभियान टोलीलाई चारैतिरबाट घेरी एकहोरो गोली चलाइयो र दोहोरो भिडन्तको हल्ला पिटियो,' विज्ञप्तिमा भनिएको छ, 'टोलीका सबै ज्यान जोगाउन सफल भए पनि हालसम्म तीन जना कार्यकर्ताहरु सम्पर्कबिहिन भएकोमा एक जना सम्पर्कमा आएको र दुई जना अझै सम्पर्कमा छैनन्।'
सरकारले अझै पनि यसलाई दोहोरो भिडन्तको भ्रम दिइरहेकोले यसबारे सत्यतथ्य जानकारी गराउन विज्ञप्ति जारी गरिएको विषमले जनाएको छ।
राज्यको दमन तुरुन्त बन्द गरी हाम्रो पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउनसमेत विषमले माग गरेको छ।