
नुवाकोटः भूकम्पले आवासमा क्षति र त्यसपछिको सुख्खा पहिराले बस्ती बगाएपछि विस्थापित तादी-१ उर्लेनी काल्चेका पीडितहरू सुरक्षित स्थानमा आवास पुनःनिर्माण गर्न थालेका छन्।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको दुई लाख रुपैयाँको लगानीमा तादी-३ खरानीटार बुदुनेमा घडेरी खरिद गरेका प्रभावितमध्ये २२ परिवारले एकीकृत बस्तीको जग बसालेका छन्।
विसं २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका सुख्खा पहिरोबाट विस्थापित जीवन बिताउँदै आएकाहरुलाई पुनःस्थापना गराउन अक्सफामसँगको साझेदारीमा सामुदायिक तथा ग्रामीण विकास समाज नेपाल (कार्डसन)ले आवास निर्माणमा प्राविधिक एवं आर्थिक सहयोग पुर्याउँदै आएको छ।
काल्चेबाट विस्थापितहरुले आवास बनाइरहेको विस्थापितको समिति ‘बुदुने एकीकृत बस्ती विकास तथा विस्तार समिति’का अध्यक्ष नरबहादुर तामाङले बताए।
कार्डसनको सहयोगमा आवास निर्माणसम्बन्धी तालीम लिएका प्रभावित महिला र पुरुष सँगसँगै आवास निर्माण गर्न घडेरी खन्ने, इँटा बनाउने, गाह्रो लगाउने, आरो चलाउने, रड काट्ने तथा रिङ बनाउन व्यस्त छन्।
कार्डसनको सहयोगमा आफ्नो घर आफैँ बनाउन थालेकाले एक महिनामा पूरा गर्ने लक्ष्य रहेको विस्थापित जीवन बिताउँदै आएका ६५ वर्षीय शेरबहादुर तामाङले बताए।
काल्चेबाट विस्थापित ७३ परिवारमध्ये २९ परिवार बुदुनेमा नै घडेरी खरिद गरी घर बनाउने तयारीमा छन् भने २२ परिवारले सुरक्षित स्थानमा घडेरी नपाउँदा पुनःस्थापना अन्योल छ।
नुवाकोटका विभिन्न स्थानबाट ३२४ परिवार पहिराको जोखिमले विस्थापित भए पनि अन्य स्थानका प्रभावितले पनि आवास बनाउन बाँकी नै छ। रासस