PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

परराष्ट्रमन्त्री ज्ञवालीले भने 'प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन, मोदी पहिले आउन सक्‍छन्'



विधुर ढकाल

परराष्ट्रमन्त्री ज्ञवालीले भने 'प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन, मोदी पहिले आउन सक्‍छन्'

काठमाडौँः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा पहिले भारतीय प्रधानमन्त्री नेपाल आउन सक्ने बताएका छन्।

शनिबार बीबीसी नेपाली सेवासँगको कुराकानीका क्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमणको प्रस्ताव नेपालले नपठाएको समेत स्पष्ट पारेका छन्।

‘हामीले प्रधानमन्त्रीको भारत भ्रमणको मितिको प्रस्ताव पठाएका छैनौँ, उताबाट पनि आएको छैन्’ उनले भने, ‘हामीले भ्रमणबारे औपचारिक प्रस्ताव पाएका छैनौँ, त्यसैले नेपाली पक्षले त्यसबारे छलफल तथा निर्णय गरेको अवस्था होइन।’

यसअघि भारतीय पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण चैत २३ गते देखि हुने भनेर सार्वजनिक गरेको थियो। भारतीय दूतावासको अतिथिको रुपमा दिल्ली पुगेका नेपाली पत्रकारहरु माझ भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको मिति खोलेको थियो।

भारतले भ्रमण मिति नै सार्वजनिक गरेका बेला परराष्ट्रमन्त्री ज्ञवाली भने हालसम्म भ्रमणको विषयमा ठोस छलफल र निर्णय नभएको दाबी गरेका हुन्।

उनले कूटनीतिक तवरबाट नभई प्रधानमन्त्रीको भारत भ्रमणको मिति मिडियाबाट थाहा पाएको समेत बताएका छन्।

‘मैले प्रधानमन्त्रीको भ्रमणबारे सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाएको हुँ, ती विवरणमा भारतीय विदेश मन्त्रालयका अधिकारीलाई उदृत गरिएको छ, र सम्भवता त्यो मितिमा नेपालबाट भ्रमण होस् भन्ने भारतको अपेक्षा होला’ उनले भने।

ज्ञवालीले उच्चस्तरीय भ्रमणको सुरुवात भारतीय पक्षबाट हुन सक्ने समेत संकेत गरे।

‘हामीले भ्रमणको सुरुवात किन उताबाट नहुने भनेर प्रस्ताव पनि गरेका छौँ,’ उनले भने, ‘तर यसलाई प्रतिष्ठा वा दुई देशबीच तानातानको विषयका रुपमा हेरिनु हुन्न।’

उनले दुई छिमेकी देशहरुबाट सन् २०१८ भित्र नै उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गरेका छन्।

भारतले एकपक्षीय रुपमा भ्रमणको मिति तय गरेर नेपाललाई भ्रमणका लागि दबाब दिन खोजेको देखिन्छ।

‘अहिलेसम्म भ्रमणको मिति तय भएको छैन, हामी तयारी त गरिरहेका छौँ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तर यसरी एकपक्षीय ढंगबाट भारतले मिति सार्वजनिक गरेर नेपाललाई दबाब दिन खोजे जस्तो देखिन्छ।’

‘भारतले सार्वजनिक गरेको मितिमा प्रधानमन्त्री त्यता नगए दुई देशबीचको सम्बन्ध बिग्रिएको हो की भन्ने देखिन्छ, त्यही दबाब दिनकै लागि भारतले यस्तो गरेको हुन सक्छ,’ ती अधिकारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell