
सोलः उत्तर कोरियाले अन्तरकोरिया उच्चस्तरीय वार्ता अर्को हप्ता गर्न शनिबार गर्न सहमति जनाएको छ।
अन्तरकोरिया शिखर सम्मेलनको व्यवस्थापनका बारेमा छलफल गर्न उच्चस्तरीय वार्ता हुनलागेको दक्षिण कोरियाको एकता मन्त्रालयले जनाएको छ।
उच्चस्तरीय वार्तामा दुवै देशका तर्फबाट तीन-तीन जना प्रतिनिधि सहभागी गराइने मन्त्रालयले तयारी गरेको छ।
पान्मुन्जोमको एक ठाउँमा बिहीबार वार्ता हुने र त्यही वार्तामार्फत् आउँदो अप्रिलको अन्त्य तिर शिखर सम्मेलन गर्नेगरी तयारी गरिने भएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ।
दक्षिण कोरियाले उच्चस्तरीय वार्तामा शिखर सम्मेलनको मिति र एजेन्डाका बारेमा छलफल गर्न उत्तर कोरियासँग गत बुधबार प्रस्ताव राखेको थियो।
‘युनिफिकेसन फेभिलियन बिल्डिङ’मा हुने वार्तामा दक्षिण कोरियाली प्रतिनिधि मण्डलको नेतृत्व एकता मन्त्री चो म्योउङ र उत्तर कोरियाको तर्फबाट उनका समकक्षी रि सन ग्वाङले नेतृत्व गर्ने छन्।
यो वार्ताले दुर्इ देशका राष्ट्रपतिहरू दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उन सहभागी हुने शिखर सम्मेलनको मिति तय गर्ने बताइएको छ।
गत फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियामा सम्पन्न ओलम्पिक खेलकुदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिको सहभागिताबाट दुई देशको सम्बन्धमा सुधार आएको छ।
दुई देशकाबीचमा सम्बन्ध सुधार हुँदै गएपछि उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा पनि नाटकीय हिसाबले सुधार आएको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाका नेतासँग अमेरिकाले वार्ता गर्न तयार रहेको बताउनुभएको छ।