भारतीय क्रिकेट खेलाडी ऋदिमान साहाले टी-ट्वान्टी क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन्। साहाले सबैभन्दा छिटो शतक पूरा गर्ने खेलाडी बनेका छन्। जेसी मुखर्जी ट्रफीमा साहाले २० बलमा १०२ रन बनाएका हुन्।
उनले सन् २०१३ को वेष्ट इन्डिजका क्रिस गेलको कीर्तिमान भंग गरे। गेलले २०१३ को इन्डियन प्रिमियर लिगमा पुणेविरुद्द ३० बलमा शतक पूरा गरेका थिए।
साहाले जारी जेसी मुखर्जी ट्रफीमा शनिबार मोहन बगान र बिएनआर रिक्रिएसन क्लवबीचको खेलमा कीर्तिमानी ब्याटिङ गरेका हुन्। १०२ रन बनाएका साहाले १४ छक्का र ४ चौका प्रहार गरे। उनको स्ट्राइक रेट ५१० रह्यो। मोहन बगानका तर्फबाट ब्याटिङ गरेका साहाको टिमले बिएनआरको १५२ रनको लक्ष्य बिना विकेट क्षति पूरा गरेको थियो।
साहा भारतको राष्ट्रिय टिमका विकेटकिपर पनि हुन्। भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि उनले नियमित स्थान पाउँदै आएका छन्।
आइपीएलको पूर्वसन्ध्यामा भएको साहाको प्रदर्शनलाई भारतीय मिडियाले महत्त्वका साथ हेरेका छन्। साहा आइपीएलमा सनराइजर्स हैदराबादमा आबद्ध छन्। साढे पाँच करोडमा साहालाई हैदराबादले अनुबन्धन गरेको छ।