काठमाडौं : यही चैत १७ गतेदेखि हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि काठमाडौं गोल्डेन्सले दुई विदेशी खेलाडीको नाम टुङ्गो लगाएको छ।
आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले शनिवार विज्ञप्ती जारी गर्दै गोल्डेन्सले भारतबाट दुई खेलाडी ल्याउने जनाएको हो।
डीसीएका अनुसार गोल्डनगेट एजुकेशन नेटवर्कको स्वामित्तमा रहेको काठमाडौं गोल्डन्सले भारतका जयकिसन कोल्सावाला र सन्नी पटेललाई टोलीमा अनुबन्ध गरेको हो।
६ टोली सहभागीता रहने डीपीएलमा यस सिजन प्रत्येक टोलीले दुई विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने प्रावधान लागु गरेको थियो। सोहि अन्सार सहभागि टीमले विदेशी खेलाडी अनुबन्ध गरेको हो।
गुजरातका कोल्सावाला विकेटकिपर ब्याट्सम्यान हुन्। भारतको रणजी ट्रफी खेलिसकेका उनले लिस्ट ए का ४ तथा फस्ट क्लासका ९ खेल खेलिसकेका छन्। त्यस्तै अर्का रणजी प्लेयर सन्नी पटेल राइट ह्यान्डेड ब्याट्सम्यान हुन्। उनले फस्ट क्लासका १३ तथा लिस्ट ए का १७ खेल खेलिसकेका छन्।
दुवै खेलाडीले यसअघि गत डिसेम्वरमा काठमाडौंमा भएको इपिएलमा ललितपुर प्याट्रिओट्सबाट खेलेका थिए।
त्यतिखेर ललितपुरको कप्तान रहेको ज्ञानेन्द्र मल्ल हाल काठमाडौं गोल्डेन्सको रणनीतिक खेलाडीको रुपमा रहेका छन्।
यसअघि नै शक्ति गौचन रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेन्जर्सले दुई विदेशी खेलाडीको नाम सार्वजनिक गरिरहेको छ।