काठमाडौँः वाम एकताका लागि गठन भएको विधान मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा जुटेका छ।
फागुन ७ गते १५ दिनको म्यादसहित गठन भएको कार्यदलले प्रतिवेदनलाई टुंग्याउने गरी काम अगाडि बढाएको कार्यदलका सदस्य एवं एमाले नेता बेदुराम भुसालले जानकारी दिए।
‘सैद्धान्तिक विषयहरुमा मोटामोटी सहमति भएको छ, सैद्धान्तिक विषयहरुसँगै संगठनात्मक संरचनाको विषयमा छलफल चलिरहको छ,’ भुसालले पहिलोपोस्टसँग भने, ‘हामी छिट्टै प्रतिवेदन बुझाउँछौँ।’
रामबहादुर थापा ‘बादल’ नेतृत्वको विधान मस्यौदा समितिका सदस्य रहेका भुसालले पार्टीको सैद्धान्तिक विषयहरु टुंग्याएर संगठनात्मक संरचना र केन्द्रीय कमिटीको संख्याको बारेमा समेत टुंग्याइने जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगावै पार्टी एकतामा जोड दिइरहेका बेला भुसालले प्रधानमन्त्रीको भारत भ्रमणको टुंगो नलागेको भन्दै एकता र भारत भ्रमण फरक-फरक भएको बताए।
‘हामीले हाम्रो तर्फबाट काम गरिरहेका छौँ, विधान र संगठनात्मक संरचनाका विषयमा हामीले प्रतिवेदन तयार गरिरहेका छौँ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणको टुंगो लागिसकेको पनि छैन्, भारत भ्रमण र एकतामा कुनै सम्बन्ध पनि छैन्।’
कार्यदलले पार्टीका भातृ संगठनहरुको एकता सम्बन्धी कार्यविधिमाथि छलफल गरिरहेको उनले भने। पार्टीको नामको पछाडिका पुच्छर हट्ने भएपछि जनवर्गीय÷भातृ संगठनको नामको पछाडि रहेका पुच्छर हटाउने सहमति भएको बताइएको छ।
पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने हुँदा, विद्यार्थी संगठन, महिला संगठन, शिक्षक संगठन, किसान संगठनलगायतका जनवर्गीय संगठनका पछाडि लागेका पुच्छर हटाउने सहमति भएको छ।
माओवादी केन्द्रका अधिकांश भातृ संगठनका पछाडि ‘क्रान्तिकारी’ जोडिएका छन्। पार्टी भातृसंगठनको पछाडि रहेको ‘क्रान्तिकारी’ शब्द हट्ने छ।
कार्यदलका संयोजक रहेका बादल नै मन्त्री बनेपछि कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप दिन ढिलाई गरेको छ।
‘हामी छलफलकै क्रममा छौँ, छिट्टै अन्तिम रुप दिने छौँ,’ र्यदलका सदस्य भुसालले भने, ‘कहिले सक्छौँ भविष्यवाणी गर्ने कुरो होइन् यति भनौँ काम अगाडि बढेको छ, अन्तिम चरणमा छौँ।’
एकताका लागि गठन भएको माधव नेपाल नेतृत्वको प्रतिवेदन कार्यदलले भने आफ्नो प्रतिवेदनको मस्यौदालाई अन्तिम रुप दिएको छ। कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यदलका सदस्य एवं माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए।