PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

नेपाल हुँदै रसियन युवती भारतमा तस्करीः मुख्य नाइके मनोज पुनका गुरु जोगिन्दर!



सविन ढकाल

नेपाल हुँदै रसियन युवती भारतमा तस्करीः मुख्य नाइके मनोज पुनका गुरु जोगिन्दर!
प्रतीकात्मक फोटो: foldrajzmagazin.hu

काठमाडौं: नेपाली चेलीहरू मात्र होइन रसियन युवतीहरूको पनि भारतमा तस्करी हुने गरेको खुलेको छ। तस्कर समूहले नेपालको भूमि प्रयोग गरेर युवतीको तस्करी गर्ने गरेको देखिएको छ। शनिबार रुपन्देही प्रहरीलाई केही युवती होटेलमा बन्धक बनाएर राखेको सूचना आयो। 

सूचना पाए लगतै प्रहरी सम्बन्धित होटेलमा पुगेर अप्रेसन सुरु गर्यो। प्रहरीलाई आएको सूचना सत्य ठहरियो। रसिया युवती बन्धक बनाएर राखिएको भेटिइयो। 'उनीहरूको अवस्था एकदमै नाजुक थियो।' जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी श्याम ज्ञवालीले भने।

रसियन युवतीलाई होटेलमा बन्धक बनाएर राख्ने बेलहियाका बब्लु मियाँलाई पक्राउ गर्ने प्रहरी सफल भयो। मियाँले केही समयदेखि रसियन युवतीलाई रुपन्देहीको नाका हुँदै भारत लग्ने गरेको अनुसन्धानमा देखिएको एसपी ज्ञवालीले बताए।

यसरी हुन्छ रसियन युवतीको तस्करी

मानव तस्करको संगठित गिरोह रहेको छ। रसियामा रहेका तस्करले भारतमा राम्रो कमाइको आशा देखाएर भिजिट भिसामा युवतीलाई नेपाल पठाउने गर्छन्। 
उनीहरू काठमाडौँ विमानस्थलमा ओर्लिएसँगै नेपालमा रहेका तस्करहरूको सम्पर्कमा आउँछन्। त्यसपछि तस्करलै काठमाडौँबाट स्थल मार्ग हुँदै रसियन युवतीलाई सुनौली, कृष्णनगर र रक्सौल नाकाबाट भारत ल्यैजाने व्यवस्था मिलाउछन्। 

प्रहरीका एक अनुसन्धान अधिकृत भन्छन् 'यसरी भारतसम्म लैजान उनीहरूले नक्कली भिसा तथा नक्कली कागजपत्र समेत मिलाएका हुन्छन्।'  केही तस्करहरूले भारतीय प्रहरीलाई समेत हातमा लिएका हुन्छन्।
 
भारतमा रहेका जोगिन्दर सिंह रसियन युवतीको मुख्य तस्कर भएको प्रहरी स्रोतले जनाएको छ। जोगिन्दरले भारतको मुम्बई, दिल्ली, गोवा लगायतका स्थानमा रसिया युवती कोठी सञ्चालन गरेका छन्। बेश्यावृतिका लागि नै रसियन युवतीको प्रयोग हुने गरेको छ। 

को हुन् जोगिन्दर?

दिल्लीको सुल्तानपुरीका गुन्डा नाइके 'जोगा' भनिने जोगिन्दर सिंह कुख्यात अपराधी हुन्। नेपाल प्रहरीभित्र उनको पहिचान 'बिटु' हो। करिब ४५ वर्षीय जोगिन्दर भारतीय भए पनि उनको ससुराली हो नेपाल। 

रुपन्देहीलाई ससुराली बनाएका  उनको एक सन्तान छ। पत्नीसँग सम्बन्ध चिसिएपछि उनी भारतमा बसेर आपराधिक गतिविधि गर्दै आएका छन्। सुरुमा इलेक्ट्रिक रिक्सा र सिसाको काम गर्ने जोगिन्दर भारतमा रसियन युवती तस्करी तथा देह व्यापारमा सक्रिय रहेको नेपाल प्रहरीको दाबी छ। 

जोगिन्दरसँग नेपाली र भारतीय दुवै नागरिकता छ। अपराधको दुनियाँसँगै भारतीय सुरक्षाकर्मीसँग उनको साँठगाँठ पनि छ। भारतीय सुरक्षाकर्मीका लागि भरपर्दा सुराकी समेत हुन् उनी। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell