PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पर्यवेक्षणका नाममा 'धर्म प्रचार' गरेको भन्दै  ईयूलाई ओलीको चेतावनी : हामीलाई पाठ नसिकाउ



विधुर ढकाल

पर्यवेक्षणका नाममा 'धर्म प्रचार' गरेको भन्दै  ईयूलाई ओलीको चेतावनी : हामीलाई पाठ नसिकाउ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली संघ (ईयू)ले निर्वाचन पर्यवेक्षणका नाममा नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। आइतबार काठमाडौँमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्। 

नेपालको निर्वाचन ऐतिहासिक भएको र ७० प्रतिशत भन्दा बढी मत खसेको भन्दै उनले संसारका कमै मुलुकमा यस्तो जनसहभागिता हुने बताए। ४०/५० लाख मतदाता विदेशमा रहँदा रहँदै पनि निर्वाचनमा ७० प्रतिशत सहभागिता हुनु भनेको राम्रो भएको उनले बताए। 

ईयूको निर्वाचन प्रतिवेदनले नेपालको संविधानको उपलब्धि, सामाजिक प्रबन्ध, सार्वभौमिकतामाथि हस्तक्षेप गरेको उनले बताए। ‘प्रतिवेदनले हाम्रो सार्वभौमिकता माथि हस्तक्षेप भयो, हामीले सच्याउन भनेको उल्टो जिद्धी गर्दै सच्याउन्नौं भन्दै छ,’ उनले भने, ‘निर्वाचनको पर्यवेक्षणका नाममा धर्मको प्रचार गर्ने काम गर्दै छ, हामीले एक–दुई जना पर्यवेक्षकलाई फिर्ता पठाउनुपर्यो, त्यसैको रिस साँध्न प्रतिवेदन ल्याइयो।’ 

प्रधानमन्त्री ओलीले ईयूलाई नेपालको सर्वभौमसत्तामाथि हात नहाल्न समेत चेतावनी दिए। ‘म आग्रह गर्न चाहन्छ इयुलाई, हामीलाई नहेप्नुस्, हाम्रो सार्वभौमिकतामाथि हस्तक्षेप नगर्नुस्,’ चेतावनी दिँदै उनले भने, ‘कुनै कुराको रिस प्रतिवेदनमा साँध्नु कहाँको नियम हो?’

निर्वाचन र प्रजातन्त्र नेपालको संस्कृति

प्रधानमन्त्री ओलीले नेपालले प्रजातन्त्रको अभ्यास इतिहासदेखि गर्दै आएको बताए। उनले नेपालमा नेतृत्व चुन्ने काम इतिहास देखि नै हुँदै आएको भन्दै कसैले पनि हाम्रो प्रजातन्त्र र प्रजातान्त्रिक अभ्यासलाई काँचो नभन्न आग्रह गरे। 

‘पश्चिमाहरुले हाम्रो प्रजातन्त्रलाई अपरिपक्क भन्छन्, तिनीहरुलाई के थाहा हामी राजा पनि चुन्थ्यौँ, द्रव्य शाहले त्यो परम्परालाई केही विराम लगाएर मात्र हो,’ उनले भने, ‘हिजो राजा पनि दौडबाट चुन्थ्यौँ, त्यहाँ पनि निर्णायक थिए, विजेता घोषणा गर्न होला त्यसलाई निर्वाचन आयोग भनिँदैन थियो।’ 

नेपालको सभ्यतामा पनि प्रजातान्त्रिक अभ्यास भएको उनले बताए। प्रधानमन्त्री ओलीले पश्चिमाहरुले आफ्नो प्रजातन्त्र मात्र राम्रो देख्ने गरेको आरोप लगाए। 

आयोगले बेला बेलामा तनाब दियो

प्रधानमन्त्री ओलीले बेला बेलामा निर्वाचन आयोगले आफूलाई तनाब दिएको बताए। ‘म निर्वाचन प्रचारमा हिँड्न लाग्छु, हातमा पत्र आउँछ। २४ घण्टाभित्र तलाईँ किन कारवाही नगर्ने?,’ उनले भने, ‘उहाँहरुले पत्र कसलाई काट्दै छु भन्ने पनि ख्याल गर्नुपर्थ्यो, चुनावमा एमाले काँग्रेसलाई हराउनकै लागि आएको थियो, मैले शेरबहादुर देउवा काँग्रेसको अन्तिम प्रधानमन्त्री भन्दा आचारसंहिताको उल्लंघन कहाँ भयो?’ 

उनले आयोगले निर्वाचन सम्पन्न गराएकोमा धन्यवाद दिँदै अगाडि भने, ‘यो आलोचनाभन्दा पनि सुधार गर्नुपर्ने कुरा हो। उहाँहरुलाई पनि दबाब थियो होला। आचार संहिता उल्लंघन गर्नेलाई पत्र काट्दा त्यसलाई किन नकाटेको भनेर सोधे होलान्।’

उनले नेपालको सम्वृद्धिका लागि विश्व समुदायसँग मिलेर काम गर्ने बताउँदै अगाडि भने, ‘हामी विश्वसँग मिलेर काम गर्न चाहन्छौँ यसको मतलब यो होइन कि हामी हस्तक्षेप स्वीकार गर्छौँ।’

प्रधानमन्त्री ओलीले प्रजातन्त्रको परिभाषा नेपालीलाई नसिकाउन समेत सुझाव दिए। ‘हामी प्रजातन्त्रका लागि कम संघर्ष गरेका छैनौँ, हाम्रो प्रजातन्त्रप्रति कम प्रतिवद्धता छैनौं भन्न मिल्दैन,’ उनले भने, ‘हामीलाई समावेशिताको पाठ सिकाउनेले आफ्नो देशमा पनि समावेशिता गरेर देखाउन्, नेपालले जस्तो ४१ प्रतिशत महिला सहभागिता नभए पनि कमसेकम एक दुई प्रतिशत कम भए पनि महिला सहभागिता गराएर देखाउन्।’ 

प्रजातान्त्रिक अभ्यास र समावेशिताको बारेमा नेपालले विश्व मञ्चमा धक फुकाएर बोल्न सक्ने उनले बताए। ‘वडा सदस्यदेखि राष्ट्रप्रमुख सम्म महिला छन्, यस्तो विश्वका कमै देशमा होला,’ प्रधानमन्त्री ओलीले भने, ‘अझै महिला र पुरुषबीच विभेद छ, अब ९ प्रतिशत तलमाथि गर्न बाँकी छ।’ 

उनले मतदाता सचेत भएको पनि बताए। ‘अलिअलि मतदाता शिक्षाको कुरा होला, तर पनि ८० प्रतिशत सम्मको टर्न ओभर भएको छ,’ उनले भने, ‘मत बदर भए होलान्, छाप लाउन जानेनन् होला, जानोस् पनि कसरी मतपत्र बोक्न नै खेताला लगाउनुपर्ला जस्तो थियो। अर्को पटक सिक्छन्, तर मतदान गर्नुपर्छ भन्ने चेतना नेपालीमा छ, यस्तो उनीहरुले देखाउन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell