
सोनी टेलिभिजनको 'सुपर डान्सर २' मा नेपालीमै भोटका लागि आग्रह गरे पनि आकाश थापा विजेता बन्न असफल रहे। बालबालिकाको डान्स रियालिटी सोको फिनालेमा देहरादुनका थापाले नेपालीमै 'मलाई भोट गर्नुहोला' भन्दै नेपालीभाषीबीच अपिल गरेका थिए।
उत्कृष्ट प्रदर्शन गर्दै आएका थापा शीर्ष ४ प्रतिस्पर्धी थिए। उत्कृष्ट नृत्य देखाए पनि थापा भोटिङमा पछि परे। सुपर डान्स टूको फिनाले आकाशका समर्थकहरु लवेदा सुरुवाल र ढाका टोपीमा सजिएर गएका थिए।
प्रतियोगिताको विजेता भए विशाल शर्मा। १२ वर्षीय शर्मा आसामका हुन्। शीर्ष चार फाइनलिस्टमा शर्मासँगै ऋतिक दिवाकर, वैष्णवी प्रजापती, आकाश थापा भिडेका थिए। लाइभ भोटिङको व्यवस्था गरिएको रियालिटी सोमा ३ करोड ४० लाख भोट ल्याउँदै शर्मा विजयी बनेका हुन्। शर्माले १५ लाख भारु पाए।