काठमाडौं : एमबीबीएस पढ्दै गर्दा रमेश कँडेलले सोचेका थिएनन्, करियरको सुरुवातमै यति ठूलो 'हाइट' पाउँछु भनेर। तर, भैदियो त्यस्तै। छोटो समयमा नाम पाए, काम पाए र सन्तुष्टि पनि। 'रिस्क' मोलेसँगै अवसरहरूले उनलाई पछ्यायो। कँडेल नेपालका पहिलो र एक मात्रै 'रजिस्ट्रेड' डाक्टर हुन् जसले 'एम डी इन जेरियाट्रिक मेडिसिन' सकाएर अभ्यास गरिरहेका छन्।
'एमडी इन जेरियाट्रिक मेडिसिन!'
नेपालमा यो विषय नयाँ हो। अहिलेसम्म पढाइ सुरु भएको छैन। कँडेलकै भाषामा भन्नुपर्दा यसको नेपाली 'टर्म' नै जुरेको छैन। त्यसैले 'जेष्ठ नागरिक विशेषज्ञ' उनी आफैले शब्द जोरजाम पारे। जेष्ठ नागरिकका एकमात्र विशेषज्ञ, यिनको उमेर भने ३२ वर्ष मात्र हो।विकसित देशको लागि 'जेरियाट्रिक' सयौँ वर्ष पुरानो विषय हो। त्यहाँ जेष्ठ नागरिकका लागि छुट्टै डाक्टर र अस्पताल छ। नेपालमा त्यो अभ्यास शून्य। कारण — नेपालमा 'जेरियाट्रिक' अध्यन गरेका डाक्टर नै छैनन्। त्यसैले कँडेलले अवसर जस्तै चुनौतीको पहाड पनि देखेका छन्।
जेष्ठ नागरिकका लागि नीति निर्माण गर्दा कँडेलको सल्लाह अनिवार्यजस्तै हुन थालेको छ। स्वास्थ्यदेखि सामाजिक सुरक्षा जस्ता विषयको नीति तय गर्दा उनको उपस्थिति अनिवार्य जस्तै बनेको छ। ती विषयमा उनी जे बोल्छन, 'एक्सपर्ट ओपिनियन' बन्छ। जेष्ठ नागरिकको क्षेत्रमा उनी एक्ला 'ब्रान्ड' बनिसकेका छन्।
'काम धेरै गर्नु छ, एक्लै छु। जोस हराएको छैन,' पाटन स्वास्थ्य विज्ञान अध्यन प्रतिष्ठानको इमर्जेन्सी अगाडि उनले यसो भनिरहँदा रातको ८ बजिसकेको थियो। भने 'ड्रिम प्रोजेक्ट पूरा गर्न दिनरात काम गरिरहेको छु। सरकारी अस्पतालमा यति रातीसम्म अस्पतालमा बस्नु बाध्यता हैन 'प्यासन' हो।'
प्यासनकै कारण पाटन अस्पतालमा छन् कँडेल। 'जेरियाट्रिक' विषयका 'ब्रान्ड' उनी यो विषयलाई स्थापित गराउन लागिपरेका छन्। 'मेडिकल करिअरको' पहिलो पाइलामा नै नसोचेका सफलता हात पारेका उनी 'ड्रिम प्रोजेक्ट' सफल पार्न वर्षौँ मिहिनेत गर्न तयार छन्।
+++
उनी स्कुले जीवनमा फर्किन्छन्।
उनलाई स्कुलमा हुँदादेखि नै घरपरिवार सबैले डाक्टर, इन्जिनियर बन्छ भनेर उक्साउँथे। सोही कारण बाल मष्तिस्कमा त्यसैले डेरा जमायो। कसैले सोध्दा आत्मविश्वासका साथ भनिदिन्थे, 'डाक्टर बन्छु'
त्यसपछि सोधिने 'किन'को जवाफ हुन्थ्यो, 'बिरामीहरूको सेवा गर्न।'
स्कुल पढ्दाका जेहेन्दार विद्यार्थी। ९० प्रतिशतभन्दा कम नम्बर कहिल्यै नआउने। स्कुल र परिवारका सदस्य एसएलसी बोर्डमै आउनुपर्छ भन्ने अपेक्षा गर्थे। अत्यन्तै 'प्रेसर' थियो। सबैले आशा गरेका उनी बोर्डमा पर्न सकेनन्। २०५८ सालको एसएलसीमा बुटवलको सिद्धार्थ बोर्डिङ स्कुलबाट ८७ प्रतिशत अङ्क ल्याउँदा समेत स्कुल परिवार कोही खुसी भएनन्। स्वयम् उनी पनि खुसी हुन सकेनन्।
एसएलसी सकेर काठमाडौँ आए। सेन्ट जेभिएर कलेजबाट विज्ञान विषयमा आइएस्सी गरे। 'मेडिसन' पढ्ने कि 'इन्जिनियरिङ' कन्फ्युजनमै १ वर्ष खेर गयो उनको। मन र मष्तिकको द्वन्द्वमा मनले जित्यो। वीपी कोइराला विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्न छात्रवृत्तीमा नाम निकाले। एमबीबीएस सकेर केही समय प्राक्टिस गरे। त्यसपछि गए 'एम डी इन जेरियाट्रिक मेडिसिन' पढ्न भारतको अल इण्डिया इनिस्च्युट अफ मेडिकल साइन्स (एम्स) कलेज।
उनीसँग एमबीबीएस सक्नेहरु अन्य विषयमा एमडी गरिरहेका थिए। 'एम डी इन जेरियाट्रिक मेडिसिन'मा कसैको 'इन्ट्रेस्ट' थिएन। साथीहरूले नै सोध्थे 'नेपालमा स्कोप नभएको विषय किन पढेको?' उनीसँग केही जवाफ थिएन।
एम्स उनको पहिलो यात्रा होइन। आमाको उपचार गर्न पहिले नै त्यहाँ पुगेका थिए। पहिलोपटक पुग्दा नै एम्स उनको 'नेक्स डेस्टिनेसन'को सूचीमा चढिसकेको थियो। त्यसैले अनलाइन मार्फत् इन्ट्रान्स दिए। एक महिनामै नाम निक्ल्यो। छात्रवृत्ती पाएर पढ्न गए सन् २०१२ मा।
कँडेलका अनुसार एम्समा भारतको सबैभन्दा 'एडभान्स टेक्नोलोजी' छ। त्यहाँ नाम निकाल्न सजिलो छैन। छात्रवृत्तीमा मात्र पढाइ हुने भएकाले प्रतिस्पर्धा ज्यादा हुन्छ।
एम्सको बसाई अत्यन्तै स्मरणयोग्य रहेको सुनाउँछन् कँडेल। त्यहाँको पढाइ, प्राक्टिस र वातावरण उदाहरणीय रहेको उनको कथन छ। 'आइ हेट भारत' भन्नेहरू त्यहाँ पुगेपछि धारणा बदल्ने उनको तर्क छ। भन्छन्, 'त्यहाँका सबै मानिसहरू सहयोगी छन्। नेपाललाई प्रतिस्पर्धी हैन मित्र ठान्छन्।'
+++
'किन जेरियाट्रिक स्पेसलिस्ट!'
कँडेल सानैदेखि संवेदनशील थिए। हजुरबुबालाई अस्पताल लाँदा डाक्टरले 'बुढेसकालले गर्दा हो, केही भएको छैन' भन्दा मनमा 'च्वास्स' घोच्थ्यो। सोच्थेँ, बुढाबुढीले चाहिँ उपचार नै नपाउने? बच्चा र महिलाहरूका डाक्टर र अस्पताल छुट्टै थिए। बुढाबुढीका लागि एउटै अस्पताल थिएन। अरूले हरेक क्षेत्रमा प्राथमिकता पाउँदा बुढाबुढीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भाउ पाएका थिएनन्।
'किन पाएनन्? बुढाबुढीप्रति राज्यको किन वितृष्णा?'
मनमा यस्तै कुराहरू खेल्थे। त्यही जिज्ञासाले उनलाई 'जेरियाट्रिक' मेडिसिनमा आकर्षित गर्योि। र, विशेषज्ञ बनायो।
+++
उनी एम्सबाट अध्ययन सकेर नेपाल आए। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट काम सुरु गरे। ग्राण्डीको अत्यन्तै राम्रो तलब छोडेर पाटन अस्पताल उनको रोजाइ बन्यो। 'ग्राण्डी अस्पताल छोडेर पाटन किन?' धेरैको प्रश्न हुन्थ्यो, 'पागल हुनुभयो कि कसो?'
मौन बस्न बाहेक उनीसँग जवाफ थिएन।
उनलाई धेरै मानिसहरूको उपचार गर्नु थियो। ग्राण्डीमा कुल जनसङ्ख्याको २ प्रतिशत धनाढ्य मात्रै आउँथे। त्यहाँ उनको मन रमाएन। उनी उपयुक्त गन्तव्यको खोजीमा थिए। पाटन अस्पतालबाट अफर आयो। पाटन नेपालकै धेरै जेष्ठ नागरिक बिरामीहरू पुग्ने अस्पताल थियो। पाटन अस्पतालले ६० वर्ष माथिका बिरामीलाई उपचारमा ५० प्रतिशत छुट दिएका कारण पनि त्यहाँ धेरै बिरामीहरू पुग्थे। धेरै बिरामी पाटन अस्पतालप्रति विश्वस्त थिए।
त्यसैले ग्राण्डी भन्दा पाटन अस्पताल कँडेलका लागि उपयुक्त गन्तव्य थियो।
+++
कँडेलका अनुसार भर्खरको मान्छे र बुढेसकालका मानिसमा लाग्ने रोग एकै भए पनि तिनको चरित्र फरक हुन्छ। उमेरको हिसाबले आएको परिवर्तन र रोग जेरियाट्रिक विशेषज्ञले मात्रै बुझ्ने कँडेल बताउँछन्। त्यसैले 'जेरियाट्रिक' लाई छुट्टै क्षेत्रको रूपमा विकास गर्नुपर्ने उनको तर्क छ।
'तीन करोड जनसङख्यामा २७ लाख भन्दा बढी ६० वर्षमाथिका बुढाबुढीहरु छन्। तिनीहरूलाई हेर्ने छुट्टै डाक्टर छैनन्,' उनी हाँस्दै भन्छन्, 'धेरैलाई रोगको नाम भन्न आउँदैन। 'अल्जाइमर्स' भन्न नजानेर 'अल्झेर मर' भन्छन्।'
झाडापखाला र रुघाखोकीमा अल्झिएको देशमा अल्जाइमर्स, पार्किन्सन जस्तो रोगको लागि चेतना आउन समय लाग्ने उनको तर्क छ।
बुढेसकालमा कब्जियत हुने, निद्रा नलाग्नेसँगै हरेक अङ्गमा रोगले छिटो आक्रमण गर्न सक्छ। यस्तो रोग 'जेरियाट्रिक विशेषज्ञ'ले मात्र बुझ्न हुन्छ। कँडेल 'नन सर्जिकल डिजिज' अल्जाइमर्स र पार्किन्सनजस्ता जटिल रोगको पनि विशेषज्ञ हुन्।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार एक जना बिरामीलाई कम्तिमा पनि २० मिनेट टाइम दिनुपर्छ चिकित्सकले। तर, कँडेल एक जना बिरामीलाई ३० मिनेट समय दिनुपर्ने बताउँछन्। बिरामीको कुरा नसुनी उपचार असम्भव रहेको उनको तर्क छ।
बुढ्यौलीका कारण बिरामीहरू बढ्दै गएको अनुभव गरेका छन् उनले। पाटन अस्पतालमा आउने ६५ प्रतिशत बिरामी ६० वर्षभन्दा माथि रहेकाले पनि मानिसमा रोगको चेतना बढ्दै गएको सुनाउँछन्। सरकारले अल्जाइमर्स भएकाहरुलाई एक लाख उपचार खर्च दिनाले पनि उपचारमा आउने बिरामीको संख्या बढेको उनको कथन छ। भन्छन्, 'बल्ल त रोग छ भनेर थाहा पाएका छन्। बिरामी बढ्न थालेपछि डाक्टर नि बढ्लान् अस्पताल नि बन्ला। आशावादी छु।'
'ड्रिम प्रोजेक्ट'
देशकै पहिलो जेष्ठ नागरिक अस्पताल बनाउने ड्रिम प्रोजेक्ट छ उनको। हरेक विधाका छुट्टै डाक्टर राखेर अस्पताल सञ्चालन गर्ने बताउँछन् उनी। प्यासेन्ट केयर, रिसर्च र जेराटिक एजुकेसन परिवर्तन गर्ने सपना साकार पार्न सरकारसँग लबिङ गरिहेका छन्। भन्छन्, 'कति वर्षमा पूरा हुने हो थाहा छैन। त्यसका लागि मेहनत गरिरहेको छु।'उनको चाहना छ बुढाबुढीको मुटुको छुट्टै डाक्टर होस्। आँखाको छुट्टै, मिर्गौलाको छुट्टै, हरेक विधाको छुट्टै। र, हरेक अस्पतालमा बुढाबुढीको लागि छुट्टै लाइनको व्यावस्था होस्। भन्छन्, 'बच्चा र महिलाजस्तै बुढाबुढीकोको पनि छुट्टै अस्पताल होस्। उनीहरूले सम्मानजनक पहुँच पाउन्।'