
मस्कोः रुसको केमेरोवो स्थित साइेवेरियाको एक सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ। रुसको आपत्कालीन मन्त्रालयले ४८ जनाको मृत्यु भएको पुष्टि गरेको रुसको अंग्रेजी भाषाको सञ्चार माध्यम आरटीले जनाएको छ।
मृत्यु भएका मध्ये ११ जना बालबालिका रहेको समाचारमा उल्लेख छ।
अझै १६ जना मानिसहरू हराइरहेको बताइएको छ। यसअघि ६४ मानिसहरू हराइरहेको बताइएको थियो। अधिकारीका अनुसार ६४ हराइरहेको भनिएकाहरु मध्ये यसअघि नै शव निकालिएका र पहिचान हुन नसकेका रहेको जनाएका छन्।
आगालागिमा घाइतेहरूलाई अस्पतालमा लगिएको छ। आगलागी लागेको भवनबाट २० जना मानिसको जीवितै उद्धार गरिएको छ। उद्धारका लागि ६६० आपत्कालीन उद्धारकर्ता परिचालन गरिएको बीबीसले जनाएको छ।
केमेरोवो मस्को देखि करिब ३६ सय किलोमिटर पूर्वमा रहेको कोइला उत्पादन हुने मुख्य क्षेत्र हो। आगलागी भएको सपिङ मल सन् २०१३ मा निमार्ण भएको थियो।