
बार्सिलोनाः जर्मनीले प्रहरीले पक्राउ गरेका पूर्व क्याटलोनियाली राष्ट्रपति चार्ल्स पुज्डमोनलाई रिहा गर्न माग गर्दै स्पेनको क्याटलोनिया क्षेत्रमा प्रदर्शन भएको छ ।
आइतबार डेनमार्कबाट जर्मनी प्रवेश गर्ने क्रममा जर्मन प्रहरीले पुज्डमोनलाई स्थानीय समय अनुसार बिहान ११ः१९ बजे स्केलस्वीग–होलस्टेन राजमार्ग प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको लिएको थियो।
'पूर्व स्पेनी नेता अहिले प्रहरी हिरासतमा हुनुहुन्छ,' प्रहरी प्रवक्ताले भने।
पुज्डमोनको दलका प्रवक्ता आन्ना ग्राबालोसाले पनि आफ्ना नेताको डेनमार्कबाट जर्मनी जाने क्रममा जर्मनीको एक राजमार्गबाट पक्राउ गरिएको पुष्टि गरेका छन्।
उनी गत बिहीबारदेखि फिनल्याण्ड भ्रमणमा थिए। तर फिनल्याण्डको प्रहरीले पक्राउ गर्न नपाउँदै जर्मनीतर्फ लागेका थिए।
उनलार्इ आजै जर्मनमा न्यायाधीश समक्ष पेस गरिने छ। उनको रिहाइको माग गर्दै क्याटलोनियामा भएको प्रदर्शनमा झडप समेत भएको छ।
मध्य बार्सिलोनामा प्रदर्शनकारीहरूले राजनीतिक बन्दीहरूलार्इ रिहा गर्न माग गरेका छन्। उनीहरूले युरोपेली आयोग र जर्मन कन्सुलेटमा राजनीतिक बन्दीलार्इ रिहा गर्न माग गर्दै पर्चासमेत टाँसेका छन्।
पुज्डमोनका वकिल जाउमे अलान्सो–केभिलसले जर्मनी हुँदै बेल्जियम फर्किने क्रममा पूर्व क्याटलोनियाली नेतालाई जर्मन प्रहरीले पक्राउ गरेको बताएका छन्।
उनी क्याटलोनियामा केन्द्र सरकारको प्रत्यक्ष शासन सुरु हुनु अगावै बेल्जियम पुगी स्वघोषित निर्वासनमा रहँदै आएका छन्।