काठमाडौं : समूह चरणमा लगातार ३ हार, त्यसपछि नेपाल विरुद्ध जित। सुपर सिक्सको सबै ३ खेलमा विजयी। वेष्ट इन्डिजमाथि लगातार दुई जित।
जिम्बावेमा सम्पन्न क्रिकेट वर्ल्डकप क्वालिफायरमा अफगानिस्तानको उपाधि यात्रा यस्तो रह्यो।
सुरुको ३ खेल हारेर पनि उत्कृष्ट पुनरागमन गरेको अफगानिस्तानले आइतवार वेष्टइन्डिजलाई ७ विकेटले हराउँदै क्वालिफायरको उपाधि जित्यो।
'फेरिटेल' कथा जस्तो देखिएको अफगानिस्ताले उपाधि यात्रामा विभिन्न आरोह अबरोहहरु बेहोर्यो। समूह चरणमा लगातार ३ खेल हार्दा पनि नेपाललाई पराजित गर्दै पहिलो जित हात पारेको अफगानिस्तान अर्को खेलमा नेपालले नै हङकङलाई हराउँदा भाग्यमानी बनेको थियो। त्यसअघि अफगानिस्तानले नेपाललाई पनि राम्रो रनरेटमा हराएको थियो।
यस्तै सुपर सिक्समा युएईले घरेलु टोली जिम्बावेमाथि अप्रत्यासित जित हासिल गरेपछि अफगानिस्तानलाई सुपर सिक्सको शीर्ष दुई स्थानमा पुग्ने मौका मिल्यो र अन्तिम खेलमा आयरल्याण्डलाई पराजित गर्दै उक्त मौकाको सदुपयोग गर्यो।
अफगानिस्तानलाई ट्रफी जिताउन फाइनलमा मोहमद सेहजादले ८४ रन बनाउँदा बलिङमा मुजिर उर रहमानले ४ विकेट लिए।
हरारेमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४६.५ ओभरमा अलआउट हुँदै २०४ रन बनाएको थियो। उसका लागि रोभमन पावेलले सर्वाधिक ४४ तथा सिमरोन हेतमयरले ३८ रन जोडे। बलिङमा रहमानले ४ तथा गुल्बादिन नइबले २ विकेट लिए।
जवाफमा सेहजादले आक्रमक ब्याटिङ गरेपछि अफगानिस्तानले ४०.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। ९३ बल खेलेका सेहजादले ११ चौका र २ छक्का प्रहार गरे। यस्तै रहेमत शाहले ५१ रन योगदान गरे। मोहमद नावी २७ तथा समिउल्लाह शेनवारी २० रनमा नटआउट रहे।
नावीले ४१ ओभरमा लगातार ३ छक्का प्रहार गर्दै अफगानिस्तानलाई जित दिलाए। अफगानिस्तानका सेहजाद खेलको म्यान अफ दि म्याच बने।
प्रतियोगितार बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेका घरेलु टोली जिम्बावेका सिकन्दर राजा प्लेअर दफ दि सिरिज घोषित भए। तर जिम्वबावे वर्ल्डकपमा छनोट हुन सकेन।
सुपर सिक्समा पुगेका ६ मध्ये सर्वाधिक अंक हासिल गरेको वेष्ट इन्डिज र अफगानिस्तान अर्को वर्ष हुने वान डे वर्ल्डकपमा लागि छनोट भएका छन्।
क्वालिफायरमा प्रतिस्पर्धा गरेको नेपाल सुपर सिक्स पुग्न नसकेपनि पहिलो पटक वान डे इन्टरनेशनल स्ट्याटस हात पार्दै आठौँ भएको थियो।