नवलपुरः एक महिना अगाडि कतारबाट स्वदेश फर्किएका जिल्लाको मध्यबिन्दु-१५ का एक युवा वेपत्ता भएका छन्।
वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्किएका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल अाएसँगै सम्पर्कविहीन भएका हुन्।
कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजबाट उनी काठमाडौँ अाएका थिए। काठमाडौँ आए पनि घिमिरे परिवारको सम्पर्कमा समेत पुगेका छैनन्।
घिमिरे एउटै कम्पनीमा काम गर्ने सर्लाहीका साथी सोनेलाल दाससँगै काठमाडौँसम्म आएका थिए। घिमिरेका बुबा मोहोनीलालका अनुसार उनी तीन वर्षदेखि कमाएको रकम एकमुष्ट बोकेर फर्किएका थिए।
चार वर्षअघि वैदेशिक रोजगारीका लागि कतार गएका घिमिरे कतारको अल बैयाद कम्पनीमा काम गर्थे। कम्पनीमा रहँदासमेत घिमिरे परिवारको सम्पर्कमा आएका थिएनन्।
रोजगारीमा रहँदा सम्पर्कमा नआएपछि परिवारले खोजी गर्दै कम्पनीमा सम्पर्क गरेको र कम्पनीले परिवारको आग्रहमा घर पठाएको घिमिरेका बुबाले जानकारी दिए।
घिमिरे कतारबाट नेपाल आएको १३ दिनपछि मात्र परिवारले उनी नेपाल आएको जानकारी पाएका थिए।
छोरो लामो समयसम्म घर नआएपछि कम्पनीमा सम्पर्क गर्दा नेपाल फर्किएको जानकारी पाएपछि कम्पनीले उपलब्ध गराएको पासपोर्ट, हवाई टिकटको प्रतिलिपि लिएर विमानस्थल पुगेर सिसिटिभी फुटेज हेर्दा छोरो नेपाल आएको र साथीको बिचमा ठुलो लगेज घिसार्दै बाहिर निस्केको देखिएको मोहोनीलालले बताए।
बाबु मोहोनीलालले छोराले रकम नेपाल नपठाइ एकैपटक बोकेर आउँदा समस्यामा परेको हुनसक्ने अनुमान गरेका छन्।
उनले छोराहरूसँगै आउने साथीहरूले छोराको अपहरण गरेको बताए।
मोहनीलालले आफ्नो छोरालार्इ साथीले नै अपहरण गरेको हुनसक्ने भन्दै प्रहरीमा निवेदन दिएका छन्।
उनी नेपाल उत्रिएर पनि घर नपुगेपछि परिवारले खोजीका लागि अरुणखोला र चोरमारा प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएका छन्। तर त्यहाँबाट खासै कुनै उपलब्धि नभएपछि परिवारले काठमाडौँ गएर गौशालामा प्रहरीलाई निवेदन दिएका छन्। रासस