PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

पार्टी अधिवेशन टार्दै राजपा: आफू अनुकूल समय लम्ब्याउने प्रयासमा अध्यक्ष मण्डलका नेताहरू 



बीपी साह

पार्टी अधिवेशन टार्दै राजपा: आफू अनुकूल समय लम्ब्याउने प्रयासमा अध्यक्ष मण्डलका नेताहरू 

काठमाडौं: संघीय संसदको पहिलो अधिवेशन अन्त्य गर्ने बेला भइसक्दा पनि चौथो ठुलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको निर्वाचन गर्न सकेको छैन। पार्टीको अध्यक्ष मण्डलभित्र संसदीय दलको नेताका आकांक्षी धेरै देखिएपछि निर्वाचनमा कठिनाइ भएको छ। 

राजपाको घोषित मिति अनुसार पार्टी महाधिवेशनको समय नजिकिए पनि कुनै तयारी भएको छैन। राजपाका अध्यक्ष मण्डलका नेताहरूले पार्टी अधिवेशन पनि टार्न खोज्दै छन्।

२०७४ वैशाख ७ गते पार्टी एकता घोषणा गरेको राजपाले एक वर्षभित्र पार्टी अधिवेशन गरेर नेतृत्व चयन गर्ने सहमति गरेको थियो। तर पार्टी एकताको एक वर्ष हुनै लाग्दा महाधिवेशनको कुनै तयारी नभएको पार्टी सचिव सुरेश मण्डलले बताए। मण्डलले अहिलेसम्म कुनै छलफलसमेत नभएको जानकारी गराए।

राजपाका नेताहरूका अनुसार पार्टीको सबभन्दा शक्तिशाली अंग अध्यक्ष मण्डलले नै महाधिवेशन टार्न खोज्दै छ। अध्यक्ष मण्डलका नेताहरूले आ–आफ्नो अनुकूल महाधिवेशन गराउने दाउमा छन्।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले महाधिवेशनको विषयमा अहिले कुनै छलफल नभएको बताउँदै अव महाधिवेशन गर्नुपर्ने समय आएको बताए।

‘महाधिवेशन बारे चर्चा भएको छैन। अबको बैठकमा हामीले छलफल गर्नेछौं ।’ यादवले पहिलोपोस्टसँग भने,‘महाधिवेशन हामीले सार्न खोजेका छैनौं । विभिन्न चरणको निर्वाचनका कारण त्यसतर्फ ध्यान जान सकेको छैन।’

पार्टीभित्र अहिले पनि पुरानो पार्टीको अवशेषका आधारमा गुटउपगुटहरु कायम रहेको भन्दै नेताहरुबीच विवाद हुँदै आएको छ। पुरानो पार्टीको हैसियतका आधारमा राजपाभित्र पद बाँडफाँड हुने गरेको छ।

तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा), सदभावना पार्टी, तराई मधेश सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी,  नेपाल सदभावना पार्टी र मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)बीच एकता भइ राष्ट्रिय जनता पार्टी घोषणा भएको थियो।

यता संघीय समाजवादी फोरम नेपालको महाधिवेशनबारे पनि निश्चित भएको छैन। तर फोरमको जिल्ला अधिवेशनहरू सुरु भएको छ। २०७२ जेठ ३१ मा तीनवटा पार्टी मिलेर संघीय समाजवादी फोरम गठन भएको थियो । पार्टी एकता घोषणा कार्यक्रममा मिति नतोकिए पनि केही दिनभित्रै महाधिवेशन गर्ने सहमति भएको थियो। 

तर पार्टी एकीकरण भएको तीन वर्ष हुँदासमेत महाधिवेशनको तयारी हुन सकेको छैन। फोरमका महासविच रामसहाय यादवले पहिलोपोस्टसँग भने,‘महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मिति तय भएको छैन तर जिल्ला अधिवेशनहरू भइरहेको छ । जिल्ला अधिवेशन पश्चात् हामीले केन्द्रको महाधिवेशन गर्नेछौं ।’

मधेशी जनअधिकार फोरम नेपाल, सङ्घीय समाजवादी पार्टी र खस समावेशी पार्टी एकीकृत भएर सङ्घीय समाजवादी फोरम बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell