
ललितपुर: नेपाल होस्टल एसोसिएसन र ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी हस्पिटलबीच ११ बुँदे स्वास्थ्य सम्झौता भएको छ। एसोसिएसन ललितपुरकी अध्यक्ष सुनिता बाटाजु र हस्पिटलका प्रबन्ध निर्देशक डा. विजय रिमालले स्वास्थ्य सम्झौताको सहमतिपत्र एकअर्कामा हस्ताक्षर गरेका छन्।
स्वास्थ्य सम्झौतापश्चात् होस्टल संचालक, संचालकका परिवार र होस्टलमा बसोबास गर्ने छात्रछात्राहरुले हस्पिटलबाट उपचारमा सहुलियत प्राप्त गर्नेछन्। नेहा ललितपुरकी अध्यक्ष बाटाजु भन्छिन्, ‘स्वास्थ्य सम्झौता खुसीको कुरा हो। होस्टल व्यवसायमा जोडिएका छात्रछात्राहरुले समेत स्वास्थ्य सुविधा पाउने सम्झौताले हामी हर्षित छौं।’
यसैबीच, केन्द्रिय अध्यक्ष चेतन दाहालले होस्टल एसोसिएसनको इतिहासमा यो स्वास्थ्य सम्झौता ऐतिहासिक र कोसेढुंगा साबित भएको प्रतिक्रिया दिएका छन्। हस्पिटलका प्रबन्ध निर्देशक डा. रिमालले होस्टल व्यवसायीसँग सेवाको भाव र आत्मीयता राखेर अझै धेरै कार्यहरु गर्नुपर्ने बाटो यो सम्झौताले खुलाएको बताए। सम्झौता हस्ताक्षर कार्यक्रममा ललितपुरका संरक्षक राजीव जोशी, केन्द्रीय सल्लाहकार सुरेन्द्र श्रेष्ठ, ललितपुरकी सचिव निमा श्रेष्ठ र ललितपुरकी सल्लाहकार पूजा जोशीलगायतको उपस्थिती थियो।