काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका युवा नेपाली स्टार सन्दीप लामिछाने मंगलवार भारतको दिल्ली जाँदैछन्।
दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका सन्दीपले आइपीएल जस्तो ठूलो स्टेजमा खेल्न जानुअघि कुनै दबाब नभएको बताएका छन्। 'आइपीएलमा दिल्लीबाट खेल्नको लागि भोली जाँदैछु। म मा कुनै नर्भस छैन।' सोमवार क्राउन् प्लाजमा पत्रकार सम्मेलन गर्दै सन्दीपले भने।
'नयाँ ठाउँ, नयाँ गेम। एकदमै फ्यानटास्टिक फिलिङ भइरहेको छ। मेरो लागि यो एकदमै विशेष अवसर हुनेछ।'
सन्दीपले आइपीएल यात्रा अहिलेको भन्दा छुट्टै हुने बताए। 'राष्ट्रिय टिमसँग हुँदा छुट्टै अनुभव हुन्छ। अब आइपीएल सुरु भएदेखि अन्त्यसम्म त्यो मेरो लागि नयाँ र भिन्दै हुनेछ। आइपीएलमा सिकेर आएका कुराहरु नेपाली क्रिकेटमा लागु गर्ने प्रयास गर्नेछु।'
उनले आइपीएलमा पुगेर आएपछि आफ्नो क्रिकेट करियरमा केही फरक हुने समेत बताए।
उनले दिल्लीमा खेल्ने अवसर पाए त्यो नेपाली क्रिकेटको लागि नै राम्रो हुने बताए। 'अहिले मैले अवसर पाएको छु। नेपालका सिनियर क्रिकेटरहरुले पनि यसमा धेरै डिजर्भ गर्नुहुन्छ, सिनियर खेलाडीले डिभिजन ५ देखि नेपाललाई ओडिआई स्ट्याटससम्म पुर्याउनुभयो। दिल्लीमा मैले खेल्ने अवसर पाएँ, राम्रो गर्न सकेँ भने नेपाली क्रिकेटलाई नै राम्रो हुनेछ।'
दिल्लीको पहिलो रोजाईँमा पर्ने सम्भावनाबारे सन्दीप भन्छन्, 'प्रत्येक टिमको पहिलो रोजाईँमा बेस्ट कम्बिनेसन हुन्छ, त्यही नै बेस्ट होला। अब म पर्ने वा नपर्ने टिम म्यानेजमेन्टले नै योजना बनाउनुहुनेछ।'
सन्दीपले आफू जहाँ गएपनि सँधै नेपाली क्रिकेट टिमसँगै भएको सम्झिरहेको बताए। 'म अष्ट्रेलिया जाँदा पनि टिमलाई सम्झिरहेको थिएँ। अब दिल्ली जाँदा पनि त्यही हुनेछ। जहाँ म आफ्नो शतप्रतिशत दिने प्रयास गर्नेछु। मैले कोच, टिम म्यानेजमेन्टलगायत अपोनेन्ट टिमबाट समेत धेरै सिक्ने अवसर पाउनेछु।'
सन्दीप राष्ट्रिय टिमसँग खेल्दाको जति महत्वपूर्ण क्षण अरु नहुने बताएँछन्। 'सिनियर टिमसँग खेल्ने एउटा सपना थियो। अहिले सँगै राष्ट्रिय टिमसँग खेल्दैछु। उहाँहरुसँग खेल्दा जुन खुशी मिलेको थियो। दिल्लीबाट खेल्न पाएँ भनेपनि त्यस्तै फिलिङ होला। तर राष्ट्रिय टिमबाट खेल्दाको अनुभन महत्वपूर्ण थियो।'
आइपीएलमा दिल्लीमा अनुबन्ध हुनुअघि सन्दीपलाई मुम्बई इन्डियन्स अन्य टिमभन्दा बढी मन पर्थ्यो। तर उनलाई यस सिजनका लागि दिल्लीले अनुबन्ध गर्यो। अब सन्दीपको चाहना छ। 'दिल्लीले जितिरहोस्। यो टुर्नामेन्ट पनि दिल्ली नै जितोस्।' सन्दीपले भने।
सन्दीपको जस्तै बलिङ गर्ने भारतीय लेग स्पीनर अमित मिश्रा अब सन्दीपको साथी बन्नेछन्। मिश्रलाई सन्दीपले भारतकै लेजेण्ड लेग स्पीनर समेत मानेका छन्। 'आइपीएलकै लिडिङ विकेट टेकर मिश्रासँग भएको अनुभव सिक्ने मौका पाउनेछु।'
आइपीएलमा के गरेमा चाँही खुशी हुन्छ र नेपाली क्रिकेटलाई फाइदा हुन्छ भन्ने प्रश्नमा सन्दीप भन्छन्, 'मैले राम्रो खेलेर जिताउन सकेँ भने त्यो नै धेरै राम्रो हुनेछ।'