
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चैत १४ का लागि तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित गरेको विषयमा (एन्फा)सँग स्पष्टीकरण मागेको छ।
राखेप अन्तर्गत खेलकुद विकास विभागले सोमबार एन्फालाई पत्र पठाउँदै निर्वाचन स्थगित गर्नुको कारण र विवाद समाधान गरी एन्फाको १६औँ साधारण सभा गर्न भन्दै स्पष्टीकरण सोधेको हो।
'उच्च अदालत, पाटनले एन्फा कार्यकारिणी समितिको निर्वाचन नगर्नु, नगराउनु भनी आदेश जारी भए बमोजिम निर्वाचन स्थगित गरिएको बुझिन आएको हुँदा सो सम्बन्धमा के भएको हो? परिषद्लाई किन जानकारी नगराउनु भएको हो? परिषद्लाई अविलम्ब स्पष्ट जानकारी गराउनुका साथै सम्मानित अदालतबाट भएको आदेशको समेत सम्मान हुने गरी यथाशीघ्र विवाद समाधान गरी १६औं एन्फा कांग्रेस (साधारण सभा) बैठक तथा कार्यकारिणी समितिको निर्वाचन सम्पन्न गर्न हुन जानकारी गराइन्छ।' खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापाले पठाएको पत्रमा उल्लेख छ।