काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आजको केन्द्रीय समितिमा निर्वाचनमा कांग्रेस पराजित हुनुका सात कारण पेस गरेका छन्। केन्द्रीय समितिमा उनले पार्टी सभापति शेरबहादुर देउवाको मनोमानी र ढंग नपुर्याउँदा पार्टीले हार व्यहोरेको दाबी गरेका छन्।
यस्ता छन् डा. कोइरालाको नजरमा कांग्रेस हार्नुका सात कारण
१. नेकपा एमाले र माओवादीले एउटै घोषणापत्र र स्थिर सरकारको नारा लिएर गए।
२. माओवादी हाम्रो सत्ता साझेदार थियो गठबन्धन छाड्दै छ भन्ने कुराको अनुमान सभापतिजीलाई किन भएन? तर पनि सभापतिजीले माओवादीप्रति किन पुरै भरोसा गर्नुभयो ?
३. जहाँसम्म लोकतान्त्रिक गठबन्धनको कुरा छ, किन र कसका लागि थियो लोकतान्त्रिक गठबन्धन? अमुख व्यक्तिहरूलाई जिताउन? कि कांग्रेसी कार्याकर्ताहरुको आँखामा छारो हाल्ने काम त भएको होइन? लोकतान्त्रिक गठबन्धन केवल मधेसी मोर्चाका लागि मात्रै थियो। निर्वाचन लगतै मधेसी मोर्चाकै २ जना व्यक्तिलाई किन प्रदेश प्रमुख बनाउन पर्यो? नेपाली कांग्रेसमा मधेसी समुदायभित्र योग्य मान्छे थिएनन्? मधेसी समुदायलाई पार्टीबाट किन टाढा पार्न खोजिँदैछ । मधेस कांग्रेसको उर्वर भूमि हो किन यसलाई कमजोर पारिँदैछ।
४. प्रहरी प्रमुखको नियुक्ति प्रकरण, महाभियोग प्रकरण अनि राजदूत नियुक्तिमा आर्थिक चलखेल –पुष्टि भएरै होला सायद आशा लामाको नाम हटाइयो। यी विषयले निर्वाचनमा कांग्रेसलाई पराजयका लागि मद्दत गर्यो।
५. पछिल्ला निर्वाचनमा पार्टी परिचालन पटक्कै भएन। अर्कोतर्फ पार्टीका भातृ एवं शुभेच्छुक संस्थाहरूको कुनै भूमिका र अस्तित्व देखिएन। सबैभन्दा दुर्भाग्य हामीले मतदातालाई क्रियाशील सदस्य बनाएका रहेछौँ।
६. भागबन्डा र गुट उपगुटको आधारमा राम्रोलाई भन्दा हाम्रोलाई उम्मेदवार बनाइयो। स्थानीय निर्वाचन र समानुपातिकमा उम्मेदवार छनोट गर्दा आर्थिक चलखेल भयो भन्ने कुरा व्यापक रूपमा बाहिर आएको छ। जसका कारण पार्टीमा लामो समयसम्म काम गरेका इमान्दार र योग्य व्यक्तिहरूलाई पाखा लगाइयो। यसैको प्रतिफलस्वरूप पार्टीको जग भत्किन पुग्यो। प्रत्यक्षतर्फ उम्मेदवार छनोट गर्दा हामीबाट पनि गल्ती र कमीकमजोरी भएका छन् त्यसको जिम्मेवारी संसदीय बोर्डमा बस्ने सबैले लिनुपर्छ।
७. नाकाबन्दीलाई हामीले नाकाबन्दी भन्न सकेनौं। राष्ट्रियताको सवालमा हामीलाई भारत परस्त बनाइयो। जब कि हामी न भारतपरस्त हौँ न चीनपरस्त हौँ हामी नेपाल परस्त हौँ।