काठमाडौं: सर्वनाम थिएटरले अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव आयोजना गर्ने भएको छ। विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्सवहरु आयोजना गरेको सर्वनामले सन् २०१८ अप्रिल २ तारिखदेखि ५ तारिखसम्म एक सप्ताह अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको आयोजना गर्ने भएका हो।
उत्सवमा बेलायत, फ्रान्स, भारत, बङ्ग्लादेश, हङ्कङ, जर्मनी, फिलिपिन्स, स्कटल्याण्ड, नेदरल्याण्ड लगायत विश्वका धेरै भन्दा देशका साथै नेपालका प्रस्तुतिहरु रहने बताइएको छ। करिब एक दर्जन देशका तीन दर्जन रंगकर्मीको सहभागीता हुने भनिएको महोत्सवमा रंगमञ्च सम्बन्धी अन्तर्रक्रिया, छलफल तथा कार्यशाला पनि हुनेछ।
नाटक प्रस्तुतिका साथै उत्सव अवधिमा विश्वकै प्रख्यात निर्देशकहरुबाट नेपाली रंगकर्मीहरुका साथ तालिम तथा कार्यशाला पनि आयोजना हुनेछ । महोत्सवको बारेमा बताउदै सर्वनामका निर्देशक अशेष मल्लले बताए ‘नेपालमा यही क्रममा विश्वमै हाल सक्रिय रंगकर्मीहरुका प्रस्तुती र प्रयोगलाई नेपालका दर्शक तथा रंगकर्मीमा अवलोकन गर्न गराउन आवश्यक छ। विश्वकै रंगकर्मीहरुलाई नेपाली रंगकला अवलोकनका साथै नेपालमा पनि विश्वका रंगकर्मीलाई भित्र्याउन सके मुलुकको पर्यटकीय गतिविधिमा समेत टेवापुग्न सक्ने महसूस गरेका छौँ।’
चारदिन चल्ने यो महोत्सवमा १३ वटा नाटकहरु मञ्चन हुनेछ। नाटक हरेकदिन विहान ११ बजेदेखि सुरुहुने नाटक महोत्सवमा दिनमा तिनदेखि पाँचवटा नाटक मञ्चन हुनेछ।