काठमाडौं: नेकपा एमालेक पुर्व अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालले प्रदर्शनरत फिल्म 'शत्रु गते' हेर्ने इच्छा व्यक्त गरेपछि उनको सचिवालयले फिल्मको विशेष सो आयोजना गर्यो। सोमबार बागबजारमा रहेको सिटी म्याक्स हलमा उनि सहित भिम रावल, देबेन्द्र पौडेल, ठाकुर गैरे, जीवन राम श्रेष्ठले फिल्म हेरे।
फिल्म हेरेर निस्किएका झलनाथ खनालले भने,'फिल्म निकै रमाइलो बनेको छ। मौलिक कथा आधुनिक शैलीमा देखाइएको फिल्मले हसाएर दर्शक होल्ड गराउनु र हरेक कुरा हाँसोमा टुङ्ग्याउनु यसको सबल पक्ष हो।' उनले फिल्मको चर्चा सुनेर आफूलाई पनि हेर्न मन लागेको बताए। खनालले भने,'सधैंजै मह जोडीको काम उत्कृष्ट छ।'
खनाल सहित अन्य शीर्षस्थ नेताको टोलि फिल्म हेर्न पुगेको थाहा पाएपछी फिल्म ’शत्रु गते’ युनिट हलमा पुगेको थियो। हरिवंश आचार्य , किरण केसी , दीपक राज गिरी , दीपाश्री निरौला र प्रदीप भट्टराई हल पुगेका हुन्।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ’शत्रु गते’ले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको खबर सार्वजनिक भएको छ। जसको कारण फिल्म निर्माण युनिट, कलाकार, गीत र ट्रेलर चर्चासँगै वर्ड अफ माउथ रहेको फिल्म युनिटको विश्वास छ। प्रदर्शनको तिन दिनमै ३ करोड २७ लाख बराबरको कारोबार गरेको भनिएको फिल्मलाई दर्शक फ्लो मिल्नेक्रम बढेको निर्देशक प्रदिप भट्टराईले बताए।
फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन्। फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन्। फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ। पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन्।
फोटो: आर्यन बिमली