
काठमाडौं : काठमाडौं जिल्लामा कार्यरत प्रहरीले प्रत्येक महिना ५० हजार रुपैयाँसम्म नगद पुरस्कार पाउने भएका छन्।
उत्कृष्ट कार्यसम्पादन गर्ने ६ जना प्रहरीलाई प्रत्येक महिना नगद पुरस्कार दिनेगरी मंगलवार महानगरीय प्रहरी परिसर काठमाडौं र नेपाल बंगलादेश बैकबीच सहमति भएको छ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले ड्युटीमा खटिएका प्रहरीको मनोबल बढाउन यस्तो व्यवस्था गरिएको बताए। एसएसपी पोखरेलले भने, 'पुरस्कारले राम्रोसँग कार्य सम्पादन गर्ने प्रहरीलाई थप प्रोत्साहन मिल्नेछ।'
वैसाख १ गतेबाट लागू हुनेगरी एक वर्षसम्मका लागि १८ लाख ६० हजार रुपैयाँ बराबरको रकम पुरस्कारमा उपलब्ध गराउने सहमति बैंकसँग भएको हो। बैकको सामाजिक उत्तरदायित्व शीर्षकमा यस्तो सहमति गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले बताए।
उत्कृष्ट काम गर्ने एक जना जवानले प्रत्येक महिना १० हजार रुपैयाँ, प्रहरी हवल्दारले १५ हजार रुपैयाँ, नायव निरीक्षकले २० हजार रुपैयाँ, सहायक निरीक्षकले २५ हजार रुपैयाँ, निरीक्षकले ३५ हजार रुपैयाँ र प्रहरी नायव उपरीक्षकले ५० हजार रुपैयाँ पुरस्कार पाउने एसएसपी पोखरेलले बताए।
काठमाडौं जिल्लामा ३ हजार ३ सय प्रहरी कार्यरत छन्। उनीहरुले गर्ने कामको मूल्याङ्कन गर्ने कमिटी बनाएरै पुरस्कार दिइने छ।