
काठमाडौं : युरोपेली संघ (ईयू) निर्वाचन पर्यवेक्षण प्रतिवेदनका विषयमा राष्ट्रिय सभाका सदस्य पनि विभाजित भएका छन्। सत्तापक्ष सहित नेपाली कांग्रेसका सांसदहरुले ईयूको प्रतिवेदनको आलोचना गरेका छन् भने राजपा र फोरमकाले त्यसको समर्थन गरेका छन्।
ईयूले खस आर्यलाई नै विस्तापित गर्न खोजेको आरोप कांग्रेसका सांसदहरुले लगाए भने राजपाका सांसदले सुझावलाई हस्तक्षेपका रुपमा लिन नहुने बताए।
कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले संघीय लोकतान्त्रिक गणन्त्रमाथि नै ईयूले प्रश्न उठाइएको बताए। उनले खस-आर्यलाई विस्थापित गर्न खोजिएको बताउँदै विदेशीबाट हुने गरेको हस्तक्षेप रोक्न प्रधानमन्त्रीलाई आग्रह गरे।
राजपाका सदस्य बृषेशचन्द्र लालले ईयूको प्रतिवेदन जायज बताउँदै सुझावलाई गम्भीरतापूर्वक लिन आग्रह गरे। ‘सुझाव दिनु सर्वभौममाथि हस्तक्षेप हो? संविधानबारे टिप्पणी वा सुझाव आन्तरिक मामिलामा हस्तक्षेप हो?,’ प्रश्न गर्दै लालले भने, ‘हो भने संविधानको समर्थनलाई पनि हस्तक्षेप नै भन्नु पर्यो।’
मनोनित राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले नेपालको संविधान विश्वको उत्कृष्ट संविधान भएको बताउँदै ईयूको हस्तक्षेप जायज नभएको बताए। व्यापक छलफलका आधारमा समानुपातिक समावेशी अनुसार संविधान बनाइएको बताउँदै ईयूको प्रतिवेदन सच्याउन माग गरे।
विडारीले भने, ‘निर्वाचन पर्यवेक्षणका नाममा सुझाव दिन पाइँदैन। यसको छानविनका लागि सरकारसँग माग गर्दछौं।’उनले समाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्ने बताए।
संघीय समाजवादी फोरमका सदस्य प्रमिला कुमारीले ईयूको सुझाव सकारात्मक रहेको बताउँदै गम्भीरतापूर्वक लिन आग्रह गरिन्। संविधान संशोधन नगरेसम्म देश विकास नहुने उनको दाबी थियो।
एमालेका उदया शर्मा पौडेलले संविधानलाई अघात पर्नेगरी ईयूको प्रतिवेदन आएको बताइन्। शेरबहादुर कुँबर, भैरव सुन्दर श्रेष्ठलगायतले ईयू प्रतिवेदनको विरोध गरेका थिए।
विशेष समयमा बोल्दै एमाले सांसद कोमल ओलीले कविता सुनाएका थिइन्।
बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्ययदेश २०७४ पेश गरे। कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश पेश गरे।
यसैगरी १५ गतेको राष्ट्रपतिको सम्बोधनमा निर्धारित पोशाकमा आउन सदस्यहरुलाई सभाध्यक्षले अनुरोध गरेका छन्। राष्ट्रिय सभाको अर्को बैठक चैत्र १६ गते २ बजे बस्नेछ।