PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

यी हुन् ओली सरकारका नीति तथा कार्यक्रमका छ स्तम्भ र परराष्ट्र नीतिका पाँच आधार



विधुर ढकाल

यी हुन् ओली सरकारका नीति तथा कार्यक्रमका छ स्तम्भ र परराष्ट्र नीतिका पाँच आधार

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आन्तरिक मामिलामा कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई अनावश्यक चासो नदिन आग्रह गरेका छन्। मंगलबार बालुवाटारमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलाई ब्रिफिङ गर्दै उनले यस्तो आग्रह गरेका हुन्। 

प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामिला तथा आन्तरिक समस्याको समाधान गर्न नेपाल आफै सक्षम रहेको भन्दै त्यसमा अनावश्यक चासो नराख्न आग्रह गरेका हुन्। 

‘हाम्रो राष्ट्रियताको रक्षाका गर्न हामी आफै सक्षम छौँ, हाम्रा आन्तरिक मामिलाहरुको फैसला हामी आफै गछौँ,  हाम्रा आन्तरिक मामिलाहरुलेमा कसैबाट पनि अनुचित खालको चासो र सरोकार कतैबाट पनि नरहोस, हाम्रो आन्तरिक मामिलाको समाधान गर्न हामी आफै सक्षम छौँ भन्ने सन्देश प्रधानमन्त्री ज्यूले दिनुभयो,’ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने। 

प्रधानमन्त्री ओलीले नेपालको समृद्धि र आर्थिक विकासमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने विषय नेपालको विदेश नीतिको हिस्सा भएको भन्दै सहयोगका लागि कुटनीतिक नियोगका प्रमुखहरुलाई आग्रह गरेको मन्त्री ज्ञवालीले जानकारी दिए। 

अहिलेको सरकारले ‘सम्वृद्ध नेपाल र सुखी नेपाली’ भन्ने लक्ष्यका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका विभिन्न देशका आवासीय राजदुतहरु तथा कुटनीतिक नियोगका प्रमुखहरुलाई ब्रिफिङ गरेका हुन्। 

प्रधानमन्त्री ओलीले ब्रिफिङका क्रममा वर्तमान सरकारका नीति तथा कार्यक्रमका ६ वटा मौलिक स्तम्भहरु रहेको ब्रिफिङ गरेका थिए। 

सरकारका नीति तथा कार्यक्रमका ६ मौलिक स्तम्भ 

१. राष्ट्रियताः प्रधानमन्त्री ओलीले नेपाल सरकारको नीति तथा कार्यक्रमको प्रमुख स्तम्भ राष्ट्रियता भएको भन्दै अगाडि भने, ‘हामी नेपाली, स्वतन्त्रता र सार्वभौमसत्ता सम्पन्न लामो र सम्मानपूर्ण इतिहास बोकेकोमा गर्व गर्छौँ, हामी हाम्रो राष्ट्रिय स्वार्थको रक्षाका लागि प्रतिवद्ध छौँ।’ 

२. प्रजातन्त्र र मौलिक स्वतन्त्रताः प्रधानमन्त्री ओलीले कुटनीतिक नियोगका प्रमुखहरुलाई व्रिफिङका क्रममा प्रजातन्त्र र स्वतन्त्रताको पक्षमा नेपालको प्रतिवद्धतालाई दोहोर्याए। ‘हाम्रो लामो राजनीतिक संघर्षको यात्रा प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षको पर्याय हो,’ उनले भने, हाम्रो संविधाने विश्वव्यापी रुपमा स्वीकार गरिएका मूल्य र मान्यताहरुलाई स्वीकार गरेको छ।’
 
३ शान्ति, सम्वृद्धि र समानतामा आधारित सामाजिक न्यायः प्रधानमन्त्री ओलीले सामाजिक न्याय प्राप्तिका लागि सबै वर्गको समतामुलक सहभागितामा जोड दिएको बताए। ‘हाम्रो समाज पूर्ण विविधतायुक्त छ। विविधताभित्रको हरेक इकाइ नेपालको पहिचान र हाम्रो सामथ्र्यको प्राथमिक स्रोत हो,’ उनले अगाडि भने, ‘हाम्रो संविधानले सबै विभेतलाई अन्त्य गरेको छ, राज्य मौलिक अधिकारको रक्षाका लागि प्रतिबद्ध छ।’

४. स्थायित्व, प्रगति र विकासः प्रधानमन्त्री ओलीले कुटनीतिक नियोगका प्रमुखहरुलाई ब्रिफिङका क्रममा नेपालको राजनीतिक स्थायित्वकायम गरेको भन्दै भने, ‘हाम्रो समाजमा कुनै पनि हिंसालाई कुनै पनि स्थान छैन्, शान्ति र स्थायित्वलाई असर पार्ने कुनै पनि गतिवधि क्षम्य छैनन।’ प्रधानमन्त्री ओलीले नेपालको संविधानिक व्यवस्था, राजनीतिक तथा अन्य विषयहरुमा निर्णय गर्ने सार्वभौम अधिकार नेपाली जनतामा मात्र रहेको बताए। 

५. सुशासनः प्रधानमन्त्री ओलीले सुशासनप्रति नेपालको बलियो प्रतिवद्धता दोहोर्याउँदै नेपालीको जीवनमा यसलाई सार्थक पार्ने प्रयासमा रहेको बताए। ‘सुशासनले हाम्रो नीति तथा कार्यक्रमहरु तथा सरकारका क्रियाकलापहरुलाई निर्देशित गर्ने छ,’ उनले अगाडि भने, ‘हामी भ्रष्टाचार विरुद्ध सून्य सहनशीलतालाई कायम राख्दै भ्रष्टाचार मुक्त सुशासनको व्यवस्था लागु गर्न चाहन्छौ।’ 

६. तिब्र आर्थिक वृद्धिः राजनीतिक संक्रमणको अन्त्यसँगै सरकार विकासको दिशामा अगाडि बढेको प्रधानमन्त्री ओलीले बताए। ‘सरकारको ध्यान समावेशिता, दीगो विकास तथा जनताको चाहना पूरा गर्न केन्द्रीत छ,’ उनले अगाडि भने, ‘तिब्र आर्थिक वृद्धि प्राप्तिका लागि हाम्रो संकल्प हो।’ प्रधानमन्त्री ओलीले नेपाल व्यवासय तथा लगानी मैत्री वातावरण निमार्णमा पूर्ण प्रतिवद्ध रहेको बताए। 

ओली सरकारको परराष्ट्र नीतिका पाँच आधार

प्रधानमन्त्री ओलीले ब्रिफिङका क्रममा सरकारका बाम गठबन्धन सरकारका पाँचवटा आधारहरु समेत प्रस्तुत गरेका थिए। 
प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई सातै प्रदेशमा दुई तिहाईको सरकार र केन्द्रमा समेत तीन चौथाईको सरकार बनेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल छिमेकीका साथै सबै मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई थप उचाईमा पुर्याउन चाहेको बताए। प्रधानमन्त्री ओलीले नेपालको संविधानले समेत परराष्ट्र नीतिलाई तय गरेको भन्दै परराष्ट्र नीतिका पाँच आधारहरु प्रस्तुत गरेका थिए। 

१. ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय स्वार्थको सम्वर्द्धन तथा सार्वभौमसत्ता र भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वतन्त्रताको रक्षा नेपालको पहिलो परराष्ट्र नीतिको पहिलो आधारको रुपमा प्रस्तुत गरे। 

२. नेपालको परराष्ट्र नीति पञ्चशील, असंलग्न, संयुक्त राष्ट्रको प्रस्तावना अन्तराष्ट्रिय कानुन र विश्व शान्तिको मान्यतामा आधारित रहेको छ। 

३. प्रधानमन्त्री केपी ओलीले व्रिफिङका क्रममा सबै मित्र राष्ट्रहरुसँग सौहार्दपूर्ण व्यवहार राख्ने र कसैसँग पनि दश्मनी नलिने बताए। 

४. आर्थिक कुटनीतिः नेपालको देशमा भएको विकासक्रम विदेशस्थित नेपाली कुटनीतिक नियोगका लागि निर्देशक रहने भन्दै प्रधानमन्त्री ओलीले आर्थिक विकासको एजेण्डालाई अन्तर्राष्ट्रिय तहमा पुर्याउनु प्रमुख प्राथमिकता रहेको बताए। 

५. नेपाली संस्कृति सभ्यता र पहिचानः ‘हाम्रो संस्कृति, सभ्यता र हाम्रो पहिचान हाम्रो सम्पति हो, नेपालको पहिचानलाई विविधतायुक्त प्रचुर स्रोतहरुको देशको रुपमा विकास गर्नु हाम्रो लक्ष्य हो,’ प्रधानमन्त्री ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell