
काठमाडौं: हरेक वर्ष मौसम परिवर्तन हुने समयमा मानिसहरु भाइरल ज्वरोले आक्रान्त हुन्छन्। अधिकाशंलाई रुघाखोकी, टाउको दुख्ने र रिंगटा लाग्ने समस्या देखिन्छ। त्यसैले मानिसहरु स्वास्थ्य संस्थामा जान बाध्य हुन्छन। अहिले ठिक त्यस्तै भएको छ — जाडो सकिएर गर्मी लागेको छ। मानिसहरु भाइरल ज्वरोले आक्रान्त छन्। स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै छ।
कसरी आउँछ भाइरल ज्वरो?
चिकित्सकहरुको अनुसार मानिसको रगतमा भाइरसको संक्रमण भएपछि भाइरल ज्वरो आउँछ। नाकबाट घाँटी हुदैं फोक्सोसम्म पुग्ने भाइसरले इन्फेक्सन गराउन थाल्छ। फोक्सोबाट सो भाइरस रगतमा मिसिएपछि ज्वरो आउँछ।
डाक्टर आशिष खनालका अनुसार ज्वरो आँउदा मानिसको प्रतिरोधात्मक शक्ति कमजोर र भाइरसहरु बलियो हुन्छ। दीर्घ रोगीहरुलाई भाइरसले चाँडै छुन्छ। भाइरस आफै शिथिल भएपछि यस्तो भाइरल आफै निको हुन्छ। उनले भने,' तर रोग प्रतिरोधात्मक क्षमता कम भएको मानिसमा भाइरस कडा रुपमा क्रियाशिल हुन्छ र प्राणसमेत लिन सक्छ।'
भाइरसहरु हावामै हुन्छ। धूलो धुवाँ र प्रदुषण बढी भएको ठाँउमा यस्ता भाइरस बढी हुन्छ। हावामै भएका यस्तै भाइरसहरु श्वासप्रश्वासको क्रममा नाकको माध्यमबाट मानिसको शरीरमा पुग्छ। भाइरसको प्रवेशसँगै नाक चिलाउने र दुख्ने हुन्छ।
'घाँटी खसखस गर्ने। खोकी लाग्ने। नाकबाट हाँछिउ आउने, रुघा लाग्ने, नाकको स्वर फेरिने, घाटीमा अप्ठेरो पर्ने, स्वर बिग्रने हुन्छ।' खनालले भने, 'नाकबाट फोक्सो हुदैँ भाइरस शरीरमा पसेपछि सुरुमा यस्ता लक्षण देखापर्छ।'
खनालका अनुसार भाइरस रगतमा फैलनासाथ मानिसमा ज्वरो आउछ। शरीरमा रहेको शक्ति ज्वरो निकाल्नमा खर्च हुन्छ। शरीरको प्रतिरोधात्मक शक्ति ज्वरो निकाल्न खर्च हुदाँ भाइरसको शक्ति बलियो हुन्छ। सोही कारण मानिसहरु शिथिल हुन्छन।
कसरी जोगिने ?
खनालका अनुसार भाइरल ज्वरो एकजनाबाट धेरै जनालाई तत्काल नै सर्छ। भाइरल ज्वरो आएपछि मास्कको प्रयोग गर्नुपर्छ। मानिसहरुको भिडमा खोक्ने तथा हाँछीउ गर्नु हुन्न। यसो गर्दा एक व्याक्तिबाट अर्को व्याक्तिमा भाइरस सर्दैन।
भाइरल ज्वरो आउदा बढी मनतातो पानी खानुपर्ने खनाल बताउँछन्। मनतातो पानी खाँदा रगतमा फैलिएका भाइरसहरु पिसाबको माध्यमबाट बाहिर जान्छ। त्यसैले जति धेरै पानी खायो त्यतिनै छिटो निको हुन्छ।
त्यस्तै बेसार पानी अदुवा पानीले पनि ज्वरोलाई कम गर्छ। अदुवा तथा बेसारले एण्टिसेफ्टिकको रुपमा काम गर्छ। त्यस्तै धेरैदिनसम्म ज्वरो ठिक नभए पारासिटामोल तथा एण्टिकोल्ड ट्याबलेट खाँदा हुन्छ।