
उदयपुरः सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारीबाट घुर्मीतर्फ जाँदै गरेको ना ६ ख ३२३१ नम्बरको तेल बोकेको ट्याङ्कर आज बिहान कटारी नगरपालिका–११, गहुँबारी भन्ने स्थानमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बारा जिल्लाको अमलेखगञ्जका २३ वर्षीय चालक पूर्णप्रसाद खनाल र अर्का मकवानपुर बस्ने ३१ वर्षीय सहचालक सरोज मोक्तान रहेका छन्।
अन्य गम्भीर घाइते हुनेहरुमा भक्तपुरका २४ वर्षीय सुवास तामाङ, बाराका १७ वर्षीय अभिषेक श्रेष्ठ र दोलखा चरिकोटका २५ वर्षीय सुजन गोले रहेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले बताएको छ।
अहिले इलाका प्रहरी कार्यालय, कटारीबाट प्रहरी परिचालन गरी मृतकलाई प्रहरीले कटारी अस्पतालमा झार्ने कार्य सुरु गरेको छ। गम्भीर घाइतेहरुलाई एम्बुलेन्समार्फत काठमाडौँ पठाउने कार्य सुरु भएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए।
आज बिहान ४ बजे ट्याङ्कर सडकबाट अनियन्त्रित भई करिव एक किलोमिटर तल खसेको प्रहरीले बताएको छ।
घटनास्थल कटारी बजारबाट २६ किलोमिटर पश्चिम उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ। रासस