PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

उत्तर कोरियाली नेता किमको गोप्य चीन भ्रमणः 'किम सामु राष्ट्रपति सीका चार प्रस्ताव'



पहिलोपोस्ट

उत्तर कोरियाली नेता किमको गोप्य चीन भ्रमणः 'किम सामु राष्ट्रपति सीका चार प्रस्ताव'

बेइजिङः चिनियाँ राष्ट्रपति सी जिङपिङको निमन्त्रणामा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले बेइजिङ भ्रमण गरी स्वदेश फर्किएका छन्।

तीन दिनको राजकीय भ्रमण क्रममा बेइजिङ पुगेका उनको भ्रमणलाई चीनले गोप्य राखेको थियो। भ्रमण सकेर किम स्वदेश फर्किएपछि चिनियाँ सञ्चारमाध्यमले भ्रमणलाई पुष्टि गर्दै राष्ट्रपति सीसँग भेटवार्ता गरेको समाचार सार्वजनिक गरेका छन्।

बेइजिङमा सोमबार साँझ उत्तर कोरियाली नेता किमको हरियो रेल देखिएपछि यसबारे अनुमान मंगलबारदेखि नै लगाइएको थियो। जापानी सञ्चारमाध्मयले बेइजिङमा किमका पिताले सन् २०११ मा रुस भ्रमणका क्रममा प्रयोग गरेको रेल बेइजिङमा देखिएको भन्दै समाचार प्रकाशित गरेको थियो।

आइतबार बेइजिङ आइपुगेका किम मंगलबार साँझ स्वदेश फर्किएको चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीले जनाएको छ।  उनको यो भ्रमण सन् २०११ को अन्त्यमा उत्तर कोरियाको सत्तामा आएपछिको पहिलो विदेश भ्रमण हो।

किमसँग भेट गर्ने सी पहिलो विदेशी राष्ट्र प्रमुख भएका छन्।

किम सात वर्षपछि पहिलोपटक विदेश भ्रमणमा गएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

संयुक्त राज्य अमेरिकासँग आफ्नो परमाणु र बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे उत्तर कोरियाले गर्न लागेको भनिएको वार्ताअघि भएको यो भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।

चीनले परम्परागत रुपमा नै प्योङयाङसँगका अन्तर्राष्ट्रिय वार्ताहरूको मध्यस्तता गर्दै आएको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले राष्ट्रपति सी र किमबीचको भेटवार्तालाई ‘सफल’ भएको भनेको छ।

भ्रमणका क्रममा किमले राष्ट्रपति सीसँग ग्रेट हल अफ पिपलमा भेटवार्ता भएको थियो। राष्ट्रपति सीले प्रथम महिला पेङ ल्यूयानसँग उत्तर कोरियाली नेता किम तथा उनकी पत्नी री सोल जुलाई भोजनसहित स्वागत गरेका थिए।

लगत्तै उनीहरुले हलमा चिनियाँ सांस्कृतिक प्रस्तुतिको समेत अवलोकन गरेका थिए। भेटवार्ताका क्रममा राष्ट्रपति सीले आफूलाई बधाई सन्देश पठाएको भन्दै किमप्रति आभार व्यक्त गरेका थिए।

‘किमको अहिलेको चीन भ्रमण विषय समयमा भएको छ, यसको विशेष महत्व छ,’ सीको भनाई उदृत गर्दै सिन्ह्वाले भनेको छ, ‘अध्यक्ष कामरेड र वर्कस पार्टी अफ कोरिया दुई देश र दुई पार्टीबीचको सम्बन्धको विषयमा चर्चा भएको छ।’

‘हामीले यो भ्रमण उच्च महत्व दिएका छौँ,’ राष्ट्रपति सीले किमलाई भनेका छन्।

उत्तर कोरियाली नेता किमले निरन्तर रुपमा चीनमा सुखद कार्यक्रमहरु भएको भन्दै चिनियाँ कम्यूनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन, चिनियाँ पिपल्स कंग्रेस र चिनियाँ कंग्रेसको जनसम्मेलन यसै वर्ष सम्पन्न भएकोमा बधाई व्यक्त गरेका थिए।

‘कमरेड सीले चिनियाँ कम्युनिष्ट पार्टी चीनका सम्पूर्ण जनताको साथ र समर्थन पाउनुभएको छ। तपाईँ चीनको मुख्य नेता बन्नुभएको छ,’ किमको भनाई उदृत गर्दै समाचारमा भनिएको छ, ‘म तपाईँलाई यहाँ बधाई दिन आएको हुँ साथसाथै दुई देशबीचको परम्परागत सम्बन्धलाई बझबुत बनाउन पनि।’

सीले भेटवार्तामा क्षेत्रीय शान्ति तथा स्थायित्वका लागि कोरियासँग मिलेर काम गर्न चाहेको बताएका थिए।

भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले किमसँग दुई देशबीचको सम्बन्ध सुधारका लागि चारवटा प्रस्ताव पेश गरेका थिए।

उनले दुई देशबीच उच्चस्तरीय भ्रमणलाई निरन्तरता तथा सम्पर्कलाई स्थापित गर्ने प्रस्ताव राखेका थिए। ‘म कमरेड किमसँग निरन्तर सम्पर्क चाहन्छु। भ्रमणको आदानप्रदान, विशेष दुता पठाएर वा कुनै सन्देश पठाएर सम्पर्कलाई निरन्तरता दिइने छ,’ सीले भनेका छन्।

त्यस्तै उनले दुई पार्टीबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै निरन्तर रणनीतिक साझेदारीको प्रस्ताव किमसँग राखेका छन्।

त्यस्तै चिनियाँ राष्ट्रपति सीले शान्तिपूर्ण विकासमा जोड दिँदै चिनियाँ विशेषतासहितको समाजवाद नयाँ युगमा प्रवेश गरेको र उत्तर कोरियामा समाजवादी निर्माण समेत नयाँ युगमा प्रवेश गरेको बताए। उनले उत्तर कोरियासँग साझेदार गरी शान्ति विकास, साझेदारी र साझा स्वार्थमा निरन्तर सम्पर्क कायम राख्ने बताएका थिए।

राष्ट्रपति सीले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा समेत विकास गर्दै अगाडि लैजाने प्रस्ताव राखेका थिए।

सो प्रस्तावप्रति किमले सकरात्मक हुँदै आफूलाई चीनप्रति ठूलो आशा र विश्वास जागेको बताएका थिए।

राष्ट्रपति सीले उत्तर कोरियामा राजनीतिक स्थायित्व, आर्थिक विकास, सुखी जनता सम्वृद्धिको अपेक्षा राखेको भन्दै त्यसका लागि चीनले सहयोग गर्ने बताएका थिए।

बेइजिङ भ्रमणका क्रममा किमले चिनियाँ प्रधानमन्त्री लि कछ्याङ, उपराष्ट्रपति वाङ सिसान, चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा पोलिटव्यूरो सदस्य वाङ हुनिनसँग समेत भेटवार्ता गरेको सिन्ह्वाले जनाएको छ।
यसैबीच उत्तर कोरियाली नेता किमले चिनियाँ राष्ट्रपति सीलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका छन्। भ्रमणको निम्तो सीले स्वीकार गरेको उत्तर कोरियाली न्युज एजेन्सीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell