
काठमाडौं: मंगलवार पक्राउ परेका कृ चलचित्रका निर्माता सुवाससँग निर्माता शम्भु प्रधानले ११ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्।
दुई दशक अगाडि निर्माण भएको सम्झना फिल्मको गीत 'उकालीमा अघिअघि..' गीत चोरी गरी आफ्नो फिल्ममा राखेकोमा कारबाहीका लागि उजुरी परेपछि 'कृ' प्रहरीले सुवास गिरी पक्राउ परेका थिए।
प्रतिलिपि अधिकार हनन् भएको दाबी गर्दै क्षतिपूर्तिको मागसहित प्रधानले उजुरी दिएका थिए। अहिले दुईपक्षविच सहमतिका लागि प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार श्रेष्ठले जनाकारी दिए।
दुईपक्षविच सहमति नभए मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गर्ने प्रहरीले तयारी गरेको छ। रन्जित गजमेरको संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीले रिमेक म्युजिक दिई उनैले गाएको गीत 'कृ' मा राखिएको थियो। गीत उप्रेती र सविन 'एकतारे'ले लेखेका थिए।
प्रतिलिपि अधिकार ऐनको उल्लंघन गरेको अदालतले ठहर गरेमा उल्लंघन गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।
यस्तो मुद्दामा सरकार वादी हुने र कम्तीमा प्रहरी निरीक्षकले मुद्दाको अनुसन्धान र तहकिकात गर्ने ऐनमा उल्लेख छ। डिएसपी मोहनकुमार श्रेष्ठ यो बिषयको अनुसन्धान गरिरहेका छन्।