
काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई क्यानडाका पूर्वमन्त्रीले संसदीय अभ्यासबारे प्रशिक्षण दिएका छन्।
काठमाडौंको कुपन्डोलस्थित एक होटलमा पूर्वमन्त्री एवं सांसद जेरारड ल्याटिलिपले राजपाका १७ जना सांसदलाई प्रशिक्षण दिएका हुन्।
युएसएड र एनडीआईको आयोजनामा बुधबार भएको उक्त कार्यक्रमको उद्घाटन राजपाका संयोजक महन्थ ठाकुरले गरेका थिए।
उक्त कार्यक्रममा क्यानडाका पूर्वमन्त्री जेरारडले सांसदहरुलाई सदनमा कसरी बस्ने, कस्तो हाउभाउ देखाउनेलगायतका विषयमा प्रशिक्षण दिएका थिए।
सदनमा ढंग नपुर्याइ बस्दा क्यानडाका विभिन्न मिडियामा सांसदहरुको बदनामी भएको बताउँदै जेरारडले राजपाका सांसदहरुलाई पनि संयमित भएर बस्न सुझाव दिए। बस्दा खुट्टाको आसनलाई पनि ध्यान दिनु पर्ने उनले बताए।
उनले सदनको बैठकमा मोबाइल फोनको प्रयोग नगर्न सुझाव दिए।
करिब दुई घण्टासम्म चलेको प्रशिक्षण कार्यक्रममा समग्रमा संघीय लोकतन्त्र र संसदीय अभ्यासका विषयमा छलफल भएको राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लालले बताए।