PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कांग्रेस हारको रिपोर्टमा ढिलासुस्ती: दोस्रोपटक थपिएको म्याद पनि सकिँदै



नेत्र तामाङ

कांग्रेस हारको रिपोर्टमा ढिलासुस्ती: दोस्रोपटक थपिएको म्याद पनि सकिँदै

काठमाडौं: स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा व्यहोरेको हारबारे समीक्षा हुनुपर्ने भन्दै नेताहरुले जोडदार माग गरे।
कारण पत्ता लगाउन केन्द्रीय समिति बैठक राख्नुपर्ने दबाव केन्द्रीय सदस्यहरुले दिन थाले। दबाव परेपछि पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमै केन्द्रीय समिति डाके।

गत माघ ५ गतेको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले एक महिनाभित्र हारको रिपोर्ट बुझाउन निर्देशन दिए। हारको गम्भीर समीक्षा गर्नुपर्ने भन्दै जिल्ला, गाउँ र नगरका ईकाइहरुलाई एक महिनाभित्र हारको कारणसहित रिपोर्ट बुझाउन उनले निर्देशन दिएका थिए।

तर, एक महिना बित्दा पनि हारको रिपोर्ट आएन।

त्यसपछि हारको कारणसहित प्रतिवेदन बुझाउन म्याद थप भयो। कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक रमेश रिजालको अध्यक्षतामा फागुन ११ गते पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त निर्णय चैत १५ सम्ममा रिपोर्ट बुझाउनुपर्ने निर्णय गर्‍यो।

अनुशासन समितिले तोकेको म्याद भोलि सकिँदै छ।  

म्याद सकिदै गर्दा आजसम्म ४० जिल्लाको रिपोर्ट केन्द्रमा आइपुगेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रतिनिधि सभाको कूल १६५ प्रत्यक्ष सिटमध्ये कांग्रेसले २३ सिटमामात्र जित हासिल गरेको छ। दोस्रो संविधानसभामा पहिलो दल रहेको कांग्रेसको निर्वाचन परिणाम सबै तहका निर्वाचन सकिँदा निकै कमजोर देखिएको छ। स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभामा एमालेका ४० प्रतिशत उम्मेदवार विजयी हुँदा कांग्रेस भने ३२ प्रतिशतमा खुम्चिएको छ। 


चैत ९ देखि चलिरहेको केन्द्रीय समितिमा पनि निर्वाचनमा हारको कारण प्रस्तुत भइरहेको छ। 

बैठकको शुरुको दिन शुक्रबार पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलले निर्वाचनमा पराजयको प्रमुख कारण सभापति देउवाका कार्यशैली भएको आरोप लगाएका थिए भने अर्का नेता डा नारायण खड्काले बचाउ गरेका थिए ।

शनिवारको बैठकमा केन्द्रीय सदस्यहरु नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, नवीन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याण गुरुङ, वीरबहादुर बलायर र हरिप्रसाद नेपालले आ–आफ्नो धारणा प्रस्तुत गरे।

सोमबारको बैठकमा रमेश लेखक, बलबहादुर केसी, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, जीवन परियार, गोविन्द भट्टराई, रामकृष्ण यादव, डा. डिला संग्रौला, सरिता प्रसाई, लक्ष्मी परियार र आमन्त्रित सदस्य बालकृष्ण पाण्डेयले निर्वाचनको समीक्षा गरे।

मंगलबार चौथो दिनको बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, फरमूल्लाह मंसुर, अर्जुनप्रसाद जोशी, धनराज गुरुङ, पुष्पा भुसाल, बद्री पाण्डे, पार्वता डीसी चौधरी, श्यामकुमार घिमिरे, अमृत अर्याल, अतहर कमाल मुसलमान र आमन्त्रित सदस्य हसन अन्सारीले हारको कारण प्रस्तुत गरे। केन्द्रीय समिति भोलि पनि जारी रहनेछ।

केन्द्रीय समितिका सदस्यहरुको धारणापछि जिल्लाबाट प्राप्त रिपोर्टको समीक्षा हुने मुख्यसचिव पौडेलले जनाए। 'केन्द्रीय समिति भोलि पनि छ, अझै केही दिन लम्बिने देखिन्छ,' पौडेलले भने, 'केन्द्रीय समितिका सदस्यहरुको धारणापछि रिपोर्टबारे समीक्षा सुरु हुनेछ।'

समयसीमा सकिएपछि रिपोर्ट आए के हुन्छ? यसबारे अनुशासन समितिले यसअघि नै स्पष्ट पारिसकेको मुख्य सचिव पौडेलले जानकारी दिए। अनुशासन समितिले १५ गतेभन्दा ढिला प्राप्त हुने उजुरीमाथि छानविन नगर्ने विज्ञप्तिमार्फत जनाएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell