PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एमाले-माओवादी एकता : तीन विषयमा बल्झियो विवाद



विधुर ढकाल

एमाले-माओवादी एकता : तीन विषयमा बल्झियो विवाद

काठमाडौँ : पछिल्लो एक सातामा नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामा ठूलो उतारचढाव देखा परेको छ। 

प्रधानमन्त्रीको भारत भ्रमण अगाडि पार्टी एकता गर्ने उद्देश्यसहित गृहकार्य अगाडि बढाउने निर्णय एक साता अगाडि गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाषा फेरिएको छ। त्यतिमात्र होइन, पार्टी एकताका लागि गठन भएको कार्यदलमा समेत सहमति जुट्न सकेको छैन। 

पार्टी एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप दियो। तर विधान कार्यदलमा सहमति जुट्न नसक्दा एकता थप लम्बिने संकेत समेत देखिएको छ। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता सम्मानजनक नभए नहुने बताएको भोलिपल्ट बसेको कार्यदलको बैठक जनयुद्ध, चुनाव चिन्ह र प्रतिनिधित्वको विषयको विवाद बल्झियो। 

कार्यदलभित्र पार्टीको अन्तरिम विधान मस्यौदाको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने र नराख्ने विषयमा विवाद पर्यो्। कार्यदलका एक सदस्य तथा माओवादी केन्द्रका एक नेताले भने, ‘जनयुद्ध भन्ने शब्द एमालेका साथीहरु सुन्न नै चाहनुहुन्न। यसैमा सहमति जुट्न सकेको छैन।’

 माओवादी केन्द्रले विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्नुपर्ने अडान राखेको छ। ‘हामीले जनयुद्ध राखौँ भनेका छौँ,  उहाँहरुले मान्नु भएको छैन,’ ती नेताले भने, ‘त्यस्तै चुनाव चिन्हको विषयमा समेत केही विवाद देखिएको छ।’ 

कार्यदलभित्र ‘जनयुद्ध’ शब्द विवादका रुपमा देखिएको कार्यदलका सदस्यसमेत रहेका एमाले वेदुराम भुसालले स्वीकार गरे। 

एमालेले चुनाव चिन्ह सूर्य हुनुपर्ने भनेको भनेको छ। माओवादी केन्द्रले सूर्यचिन्हमा हँसिया र हथौडा पनि राख्नुपर्ने अडान राखेका कारण चुनाव चिह्नमा समेत कुरा मिल्न नसकेको भुसालले बताए। 

पछिल्लो समय विधानसँगै नेतृत्वमा समेत विवाद बल्झिएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी निकट विद्यार्थीहरुको भेलामा सम्मानजनक एकता भए मात्र पार्टी एकता हुन सक्ने बताएपछि यो विवाद निस्किएको छ। 

सोमबार राजधानीमा पार्टी निकटका विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै प्रचण्डले विचारसँगै र संगठन संख्यामा सम्माजनक सहमतिपछि मात्र एकता हुने भनेका थिए। प्रचण्डले पार्टी एकतामा तल्लोदेखि माथिल्लो तहसम्म ‘फिप्टी–फिप्टी’को प्रतिनिधित्व हुनुपर्ने बताएका थिए। 

संगठन संरचनामा सहमति

संगठन तथा विधान मस्यौदा कार्यदलले संगठनात्मक संरचनाको विषयमा भने सहमति जुटाएको छ। कार्यदलका सदस्य भुसालका अनुसार कार्यदलको बुधबार बसेको बैठकले चुनाव चिह्न र प्रस्तावना बाहेकका विषयमा सहमति जुटाएको हो। 

पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीमा सहमति जुटाएको कार्यदलले पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने सहमति जुटाएको छ। 
त्यस्तै एकीकृत पार्टीको पोलिटव्यूरो ९९ सदस्यीय हुने छ। ३३ सदस्यीय स्थायी समिति बनाउने सहमति भएको छ। 

यसैबीच विवादमा रहेको विषयलाई समाधान गर्ने जिम्मा कार्यदलले संयोजक रामबहादुर थापा बादलसँगै एमाले महासचिव ईश्वर पोखरेललाई दिएको छ। दुई नेताले कार्यदलभित्रको विवादलाई समाधान गरी पार्टी एकता संयोजन संमितिलाई विधानको मस्यौदा हस्तान्तरण गर्ने जिम्मा दिएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए। 

पार्टीको केन्द्रमा तीनवटा समिति पछि राष्ट्रिय प्रतिनिधि परिषद् रहने छ। हाल एमालको संगठनात्मक संरचनामा यसको प्रावधान रहेको छ। त्ययसछि प्रदेश कमिटी, जिल्ला कमिटी, क्षेत्रीय कमिटी तथा प्रदेशसभा क्षेत्रीय कमिटीसमेत कायम रहने छन्। 

त्यस्तै एकीकृत पार्टीमा नगर तथा गाउँ कमिटी, वडा कमिटी र सबैभन्दा तल्लो तहमा प्रारम्भिक कमिटीको व्यवस्था गरिने भएको छ। 

कार्यदलका सदस्य भुसालका अनुसार प्रदेश कमिटीमा १५० सदस्य रहने छन्। कार्यदलले जिल्ला कमिटी ७५ देखि १ सय २५ सदस्यीयसम्म बनाउने सहमतिसमेत जुटाएको छ। 

कार्यदलले नगर तथा गाँउ कमिटी कम्तिमा ५१ सदस्यीयदेखि बढीमा ७५ सदस्यीयसम्म राख्ने सहमति जुटाएको छ। वडा कमिटीमा भने २५ सदस्य हुनेछन्। भुसालका अनुसार सबैभन्दा तल्लो कमिटी प्रारम्भिक कमिटी १५ सदस्यीय हुनेछ। 

पार्टीको सिद्धान्त मार्क्सवाद - लेनिनवाद

पार्टीको मार्गनिर्देश सिद्धान्त मार्स्-वाद र लेनिनवाद हुने छ। एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र माओवादीले मान्दै आएको माओवाद महाधिवेशनसम्मलाई थाँति राखेर लैजाने सहमति भएको छ। 

दुई अध्यक्ष, पदाधिकारी सून्य

पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको अध्यक्ष दुबै पार्टीका अध्यक्ष हुने छन्। नेतृत्वलाई ‘को–चेयर’ मोडलको रुपमा अगाडि लैजाने सहमति दुई दलबीच भएको छ। पार्टीको केन्द्रीय कमिटीमा दुई अध्यक्षबाहेक अन्य पदाधिकारी भने हुने छैनन्। 

त्यस्तै पार्टी नेताहरुको समेत हाललाई वरियताक्रम नतोकी अगाडि जाने विषयमा छलफल चलिरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell