
काठमाडौंः काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका विज्ञापन हटाउने कामलाई तीव्रता दिएको छ।
एक वर्षअघि नै अभियानका रुपमा जथाभावी राखिएका विज्ञापन तथा होर्डिङबोर्ड हटाइसकेको कामनपामा पुनः विज्ञापन देखिएकाले सुन्दर शहरको परिकल्पनासहित उक्त कार्य सुरु गरेको कामनपाले जनाएको छ।
यदि कसैको भरोसामा उक्त कार्य गरिएको प्रमाण फेला परे कानुनी रुपमा नै कारबाही गरिने पनि कामनपाका निर्देशक नवराज ढकालले प्रष्ट पारे।
कामनपाका राजस्व विभाग प्रमुख राज्यप्रकाश प्रधानले भने –नियमसंगत राखिएका बाहेक सबै विज्ञापन हटाउने र राख्ने व्यक्ति वा संस्थालाई कारबाही गरिन्छ कुनै पनि बहानामा छुट पाउने अवस्था छैन।
स्वीकृति दिएभन्दा बढीले विज्ञापन र बोर्ड बढेकाले महानगरले विशेषरुपमा निगरानी गर्न सुरु गरेको प्रधानले बताए। पहिलो चरणमा विज्ञापन तथा होर्डिङबोर्ड व्यवस्थित गर्न बोर्ड फाल्ने र सम्पर्कमा एजेन्सी नआए कम्पनीलाई नै उक्त विज्ञापन निकाल्दा लाग्ने खर्च र अन्य जरीवानासहित कारबाही गरिनेछ।
तीस वर्ग फुटभन्दा माथिका, झ्याल छोपेर तथा कौशीमा फ्लेक्स बोर्ड राख्न नपाइने प्रावधान रहेको छ। त्यस्तै, छिमेकीको सहमति विना पनि त्यस किसिमका बोर्ड राख्न पाइँदैन। तर सुपरमार्केट तथा सपिङ कम्प्लेक्समा डिजिटल बोर्ड भने राख्न पाइन्छ।
काठमाडौँ महानगरको कानुनी व्यवस्था अनुसार विज्ञापन तथा होर्डिङबोर्ड नियमन गर्न विज्ञापन कर नीति—२०७१, विज्ञापन कर निर्देशिका—२०६४ र सर्वोच्च अदालतको आदेशसमेत रहेको छ जसमा विज्ञापनलाई शून्य गर्नु नभई नियमन गर्नपर्ने कुरा उल्लेख छ।
हाल कलङ्की, त्रिपुरेश्वर, माइतीघर, सुन्धारालगायत स्थानमा नियमबाहिर रही विज्ञापन राखिएका छन्। तीनलाई हटाउनका लागि दैनिक रुपमा कामनपाबाट पाँचजनाको नगर प्रहरीसहितको टोली खटिने गरेको छ। रासस