
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरुले शेयर बजार ओरालो लागेको सम्बन्धमा चिन्ता प्रकट गरेका छन्।
बैठकमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई मुलुकमा तुलनात्मक सहज राजनीतिक वातावरण बनेका बेला शेयर बजार ओरालो लाग्नु सुखद् नभएको बताए। निर्वाचन समीक्षा बैठकमा कांग्रेस नेता डा रामशरण महतले पनि शेयर बजार ओरालो लागेको सम्बन्धमा चिन्ता व्यक्त गरेका थिए।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी चुनावी समीक्षा बैठकमा आज ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, आङदम्बे र महेन्द्र यादवले आफ्ना धारणा राखेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
यही चैत ९ गतेदेखि शुरु भएको बैठकमा शुरुको दिन शुक्रबार पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलले निर्वाचनमा पराजयको प्रमुख कारण सभापति देउवाका कार्यशैली भएको आरोप लगाएका थिए भने अर्का नेता डा नारायण खड्काले बचाउ गरेका थिए ।
शनिवारको बैठकमा केन्द्रीय सदस्यहरु नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, नवीन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याण गुरुङ, वीरबहादुर बलायर र हरिप्रसाद नेपालले आ–आफ्नो धारणा प्रस्तुत गरे।
सोमबारको बैठकमा रमेश लेखक, बलबहादुर केसी, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, जीवन परियार, गोविन्द भट्टराई, रामकृष्ण यादव, डा. डिला संग्रौला, सरिता प्रसाई, लक्ष्मी परियार र आमन्त्रित सदस्य बालकृष्ण पाण्डेयले निर्वाचनको समीक्षा गरे।
मंगलबार चौथो दिनको बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, फरमूल्लाह मंसुर, अर्जुनप्रसाद जोशी, धनराज गुरुङ, पुष्पा भुसाल, बद्री पाण्डे, पार्वता डीसी चौधरी, श्यामकुमार घिमिरे, अमृत अर्याल, अतहर कमाल मुसलमान र आमन्त्रित सदस्य हसन अन्सारीले हारको कारण प्रस्तुत गरे। बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ।