PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

दमकमा 'सांस्कृतिक संक्रमण र फेरिँदो सौन्दर्य'माथि अन्तरक्रिया



पहिलोपोस्ट

दमकमा 'सांस्कृतिक संक्रमण र फेरिँदो सौन्दर्य'माथि अन्तरक्रिया

दमक: बुधबार दमकमा 'सांस्कृतिक संक्रमण र फेरिँदो सौन्दर्य' माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। आयोजक संस्था युथ नेटवर्कको कार्यालयमा सिर्जनशील अराजकताका अभियन्ताद्वय राजन मुकारुङ र उपेन्द्र सुब्बाको उपस्थितिबिच छलफल भएको हो।

मदन पुरस्कार विजेता आख्यानकार राजन मुकारुङले वर्तमान राजनीतिक परिवेशमा समृद्धिको नारालाई जनताले अभिमत दिएको स्पष्टोक्तिसहित कार्यक्रम सुरु भएको थियो। मुकारुङले सांस्कृतिक मनोविज्ञान अनुसारले सौन्दर्य चिन्तन विकास हुने तर्क राखे। भने,‘यथास्थितिवादी मनोविज्ञान परिवर्तन नभएसम्म नयाँ सौन्दर्य निर्माण हुन सक्दैन।’

नेपाली समाजको रूपान्तरणका लागि संस्कृतिप्रतिको जड चिन्तन परिवर्तन हुन आवश्यक रहेको र सिर्जनशील अराजकताले थालेको अभियान पहिचानको पक्षमा रहेको दाबी गरे। उनले भने,‘नेपाली समाजमा युवाहरुको चाहना तीव्र रुपमा फेरिरहेको छ। अब विचार र सिद्धान्तबाट निर्देशित नभएका चाहनाहरु छिट्टै बदलिने छन्।' 

कवि उपेन्द्र सुब्बाले किरातकालीन, लिच्छवीकालीन हुँदै वर्तमानसम्मको सांस्कृतिक विकास, अभ्यास र चिन्तन बारे बोले। भने,‘समाज विकासक्रममा कुनै एउटा तप्काले आफूलाई मात्रै उच्च जाति, विशिष्ट ठान्दै अघि बढ्दा सामाजिक संक्रिणता बढेको हो।’ नेपालमा राजनीति गर्नेहरुले मात्रै जातिवादलाई बढवा दिएकाले वर्तमान समाज जातीय र नश्लीय सकसबाट मुक्त हुन सक्ने अनुमान कवि सुब्बाको रहेको छ।  साझा नेपाली जातिको विकास गर्न सकिएन भने नेपाली समाजको हार्दिकता टुट्दै जान सक्छ। त्यसैले संस्कृति, चिन्तन र मनोविज्ञानलाई साझा र सबैको अस्तित्वलाई स्वीकार गर्ने ढङ्गले विकास गर्नुपर्दछ।’

सांस्कृतिक संक्रमण र नेपाली समाजको वस्तुस्थितिबारे बारे भएको दुई घण्टा लामो छलफलमा दुई अराजक साहित्यकारसँगै स्थानीय युवा, विद्यार्थी नेता, लेखनमा सक्रिय युवालगायतको सहभागिता रहेको थियो। कार्यक्रमलाई कवि नवीन प्राचिनले सहजीकरण गरेका थिए। 
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell