
काठमाडौँः भारतीय राजदूत मञ्जिभ सिंह पुरीले प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट सँग शिष्टाचार भेट गरेका छन्।
नेपाल भारत भैत्री समाज धनगढीको कार्यक्रममा सहभागी हुन पुगेका राजदूतले मुख्यमन्त्री भट्टसँग शिष्टाचार भेट गरेका हुन्।
परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेट भएको मुख्यमन्त्री भट्टले पहिलो पोस्टलाई जानकारी दिए।
पछिल्लो समय परराष्ट्र मन्त्रालयले कूटनीतिक भेटघाटलाई ‘लगाम’ लगाउँदै भेटघाट पूर्व परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्ने निर्देशन जारी गरेको छ।
सोही अनुसार भारतीय दूतावासले मुख्यमन्त्रीसँगको भेटका लागि परराष्ट्र मन्त्रालयसँग अनुमति मागेको थियो।
‘परराष्ट्र मन्त्रालयले हामीलाई शिष्टाचार भेटका लागि आग्रहसहितको पत्र पठाएको थियो,’ मुख्यमन्त्री भट्टले भने, ‘उहाँहरू (दूतावास)ले नै भेटका लागि परराष्ट्रसँग अनुमति लिनु भएको होला, हामीलाई परराष्ट्रले भेटको बारेमा पत्राचार गरी जानकारी गराएको हो।’
भेट शिष्टाचार भएको र द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताए। मुख्यमन्त्री भट्टलाई भेट्न राजदूत पुरी मुख्यमन्त्रीको कार्यालयमा पुगेका थिए।