काठमाडौं: चैत ९ गते प्रदर्शन भएको फिल्म ’शत्रु गते’ युनिटले ६ दिने बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। राजधानीको लागि वितरक बिके फिल्म्सका गोपालकाजी कायस्थ र मोफसलका लागि वितरक एफडी कम्पनिका बिक्रम पराजुली्ले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरी ग्रस कलेक्सन बारे जानकारी दिएका हुन्।
६ दिनमा राजधानीमा ३ करोड २५ लाख ग्रस र मोफसलमा २ करोड ३७ लाख ग्रस गरेको बताइएको छ। फिल्मले प्रदर्शनको छैठौ दिनसम्म ५ करोड ६२ लाखको कारोबार गरेको वितरकले जानकारी दिएका हुन्।
प्रेस सम्मेलनमा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा र निर्देशक प्रदीप भट्टराई उपस्थित थिए। मह सञ्चारको ब्यनारमा निर्मित फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ।
पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन्। यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन्।