काठमाडौं: नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसका अवसरमा नौजना पूर्वसभापतिलाई आज सम्मान गरेको छ।
सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सभामुख कृष्णबहादुर महराले सबैलाई सम्मान गरेका हुन्।
सम्मानित हुनेहरुमा महासंघका पूर्वसभापतिहरु होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठूरी, शिव गाउँले र डा महेन्द्र विष्ट छन्।
स्वतन्त्र प्रेसको रक्षा र लोकतन्त्रको पक्षमा महत्वपूर्ण योगदान पुर्याएबापत महासंघले पूर्वसभापतिहरुलाई सम्मान गरेको हो। उक्त अवसरमा सभामुख महराले निरङ्कुशविरुद्ध र लोकतन्त्रको पक्षमा पत्रकार महासंघले खेलेको भूमिका सबैका सामुन्ने जगजाहेर रहेको बताए।
महासंघका अध्यक्ष गोविन्द आचार्यले आफ्नो क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको भन्दै पूर्व अध्यक्षहरुको प्रशंसा गरे।
सम्मानित पूर्व अध्यक्ष हरिहर विरहीले प्रेस स्वतन्त्रता सम्बन्धी संविधानमा भएका व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सक्रिय र संगठीत भएर लाग्न पत्रकारलाई आग्रह गरे।
कार्यक्रममा महासंघद्वारा प्रकाशित पत्रकारिताको लोकार्पण गरिएको थियो। स्थापना दिवसका अवसरमा महासंघले चियापान कार्यक्रम पनि आयोजना गरेको थियो।